सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको मुख्य रजिस्ट्रारसहित विभिन्न पदमा नियुक्ति सिफारिस गरेको हो।

काठमाडौँ– सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्। न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले सर्वोच्चमा कार्यरत वरिष्ठतम् रजिस्ट्रार पौडेललाई सिफारिस गरेको हो।

मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले अवकाश पाएसँगै रिक्त मुख्य रजिस्ट्रारमा पौडेल सिफारिस भएका हुन्। त्यस्तै, पौडेलको बढुवा सिफारिससँगै रिक्त हुने रजिस्ट्रारमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ।

रिक्त नायव महान्यायाधिवक्तामा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाललाई सिफारिस गरिएको छ। उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापनका लागि सिफारिस गरिएको छ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत न्याय सेवा अन्तर्गत सहसचिव निर्मला अधिकारी भट्टराईलाई सचिवमा बढुवा सिफारिस गर्दै उनलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापनका लागि सिफारिस गरिएको छ।

निर्वाचन आयोगमा कार्यरत सहसचिव इन्दिरा दहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गर्दै नेपाल कानून आयोगमा पदस्थापनका लागि सिफारिस गरिएको छ।

बैठकले नेपाल न्याय सेवा, विशिष्ट श्रेणी सचिव वा सो सरह, राजपत्रांकित द्वितीय श्रेणी, उपसचिवको पनि सरुवा गरेको छ। त्यसैगरी कानून समूहका उपसचिव, शाखा अधिकृतहरूको पनि सरुवा गरिएको छ।