एकीकृत समाजवादी स्थायी समितिका अधिकांश सदस्य सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले वर्तमान सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अधिकांश स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने बताएका छन्। 

शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। 

जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले बताए। 

एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरेपनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने अधिकांश नेताहरूको धारणा रहेको उनले जानकारी दिए। 

प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन औपचारिक रूपमा प्रस्ताव नपठाएको खण्डमा पार्टी सरकारमा जान नहुने निष्कर्ष नेताहरूले निकालेका छन्।