नागको पूजाआराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमीलाई वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूको चाडबाडको याम शुरू हुने दिनका रूपमा पनि लिइन्छ।

काठमाडौँ– नागपञ्चमी पर्व नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाउने चलन छ। 

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। 

“नाग पूजाको प्रचलन वैदिककालदेखि शुरू भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो,” उनी भन्छन्, “श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।”

उनका अनुसार प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्किन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो। नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ। 

नागका बाह्र नाम भए पनि आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ। घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रिने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

नागपञ्चमीलाई वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूको चाडबाडको याम शुरू हुने दिनका रूपमा पनि लिइन्छ।