कम्बोडियाले युद्धविराम भंग गरेको थाई सेनाको आरोप

सोमबार मलेसियामा भएको शान्ति वार्तापछि कम्बोडिया र थाइल्यान्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका थिए।

कम्बोडियाले युद्धविराम भंग गरेको थाई सेनाको आरोप
तस्वीर: रोयटर्स

कम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको सेनाले आरोप लगाएको छ। जंगलले ढाकिएको सीमामा रक्तपातपूर्ण लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको थाई सेनाले बताएको छ। 

सोमबार मलेसियामा भएको शान्ति वार्तापछि दुवै पक्ष मध्यरातबाट बिना शर्त युद्धविराम गर्न सहमत भएका थिए। यसले ८०० किलोमिटर लामो सीमानामा रहेका विवादित क्षेत्रका प्राचीन मन्दिरको विषयमा भएको लडाइँ अन्त्य हुने संकेत गरेको थियो।

“सम्झौता लागु हुँदा थाई पक्षले कम्बोडियाली सेनामाथि थाई क्षेत्रभित्रका धेरै क्षेत्रमा सशस्त्र आक्रमण गरेको पत्ता लगाएको थियो,” थाई सेनाका प्रवक्ता विन्थाई सुवेरीले एक भने, “यो सम्झौताको जानाजानी उल्लंघन र आपसी विश्वासलाई कमजोर पार्ने स्पष्ट प्रयास हो, थाइल्यान्ड आत्मरक्षाको आफ्नो वैध अधिकार प्रयोग गर्दै उचित प्रतिक्रिया दिन बाध्य छ।”

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले भने मंगलबार कुनै पनि क्षेत्रमा सशस्त्र झडप नभएको दाबी गरेका छन्। यद्यपि दुवै पक्षले युद्धविराम सम्झौताको भागका रूपमा सीमामा विपक्षी क्षेत्रीय कमान्डरबीच बिहान तोकिएका बैठक शुरू भएको बताएका छन्। (रासस/एएफपी)