युक्रेनमा नयाँ वर्षमा समेत रोकिएन रुसी आक्रमण

युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

रुसले युक्रेनका विभिन्न शहरमा शृंखलाबद्ध क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। युक्रेनमा युद्ध शुरू भएयताकै ठूलो आक्रमण गरेको २ दिनपछि नयाँ वर्षको अघिल्लो साँझ रुसले थप आक्रमण गरेको हो। 

राजधानी किभमा भएका थुप्रै विस्फोटका घटनामा एक जनाको मृत्यु भएको किभका मेयर भिटाली क्लित्स्कोले बताए। यस्तै, एउटा होटलमा समेत क्षति पुगेको र एक जापानी पत्रकारसहित कम्तीमा २० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। युक्रेनी सैन्य बल प्रमुख भलेरी जालुज्नीका अनुसार रुसले १२ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ।

आक्रमण र विस्फोट भएका स्थानहरूमा आकस्मिक उद्धारकर्ताहरूको टोली पठाइएको बताइएको छ। यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले नयाँ वर्षका दिन पनि रुसले आक्रमण गराउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेका थिए।

पछिल्लो समय रुसले युक्रेनका ऊर्जा केन्द्रहरूमा आक्रमण बढाउँदै लगेको छ। जसका कारण अधिकांश सर्वसाधारण विद्युतको पहुँचबाट वञ्चित हुनुपरेको छ।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी नागरिकहरूलाई सम्बोधन गर्दै उनीहरूका नेताले देश ध्वस्त पारेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना दिएपछि जेलेन्स्कीले रुसी नागरिकहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। साथै, नयाँ वर्षको सम्बोधन गर्दा पुटिन सैनिकहरूले घेरिएर बस्नुपरेको भन्दै जेलेन्स्कीले पुटिनले सैनिकहरूको नेतृत्व नगरेको बरु उनीहरूका पछाडि लुकेको बताएका थिए।

जेलेन्स्कीले भने, “तपाईंहरूको नेताले अघि लागेर नेतृत्व गरिरहेको जस्तो देखाएका छन् तर उनका पछाडि सेना छ। वास्तवमा तपाईंहरूको देश र भविष्यलाई जलाएर उनी तपाईंहरूको पछाडि लुकिरहेका छन्। यो विध्वंसका लागि उनलाई कसैले पनि माफ गर्नेछैन।”

-एजेन्सी