चितवन र झापामा करेन्ट लागेर २ जनाको मृत्यु

चितवन र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।‍​​​​​​​

काठमाडौँ– चितवन र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।‍

चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगरमा करेन्ट लागेर शेरबहादुर थापाको मृत्यु भएको हो।

स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा ५० वर्षीय थापालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, झापाको कचनकवल गाउँपालिका–७, सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

गए राति करेन्ट लागेर ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।