करोडौँको सरकारी भवन प्रयोगविहीन, भाडाको घरमा गाउँपालिका

सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ।

सिरहा– जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ। वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब तीन करोड रुपैयाँमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ।

भवन निर्माणका लागि शुरूमा दुई करोड ५० लाख रुपैयाँको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता दुई करोड रुपैयाँमा गरिएको थियो। पछि भान्साघर निर्माणका लागि थप एक करोड रुपैयाँ खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिए।

“मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो,” उनले भने।

२४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ। “सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ, तर पालिकाले लाखौँ तिरेर भाडामा बसिरहेको छ,”  स्थानीय नागेश्वर यादवले भने।

गाउँपालिकाका लेखा सहायक गंगाप्रसाद यादवका अनुसार पालिकाले हाल चार वटा छुट्टाछुट्टै भवन भाडामा लिएको छ। यसको भाडा वार्षिक रूपमा १२ लाखभन्दा बढी खर्च भइरहेको छ। 

पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सीटीईभीटीसँग समन्वय भइरहेको जानकारी दिए। तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन्।