‘कार्यकर्तालाई भ्रममा पार्न एमालेसँग एकताको हल्ला चलाइयो’

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीले एमालेसँग एकताका लागि कुनै प्रयास नगरेको बताएका छन्।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का उप महासचिव गंगालाल तुलाधरले एमालेसँग पार्टी एकताका लागि कुनै प्रयास नगरिएको बताएका छन्।

उनले पार्टी एकताको हल्ला चलाएर एकीकृत समाजवादीका कार्यकर्ताहरूलाई भुलभुलैयामा राख्ने षड्यन्त्र भइरहेको बताए। 

एमालेसँग एकताको लागि कुनै प्रयास नभएको स्पष्ट पार्दै उनले भने, “पार्टी एकताका सवालमा जे खालका चर्चा चलिरहेका छन्, ती चर्चा केबल नेकपा (एमाले) का केही मान्छेले चलाएका कुरा हुन्। एकता हुन्छ भनेर हाम्रो कार्यकर्ता पंक्तिलाई भुलभुलैयामा राख्ने खालको जस्तो जुन षड्यन्त्र भइरहेको छ, यसबाट प्रस्ट हुनुपर्छ अहिले एकताको कुनै प्रयास उताबाट पनि भएको छैन।”

त्यस्तै, उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरा ‘हावा’ भएको बताए। 

एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव यति छिट्टै नराख्ने उनको भनाइ छ। उनले भने, “हाम्रा अध्यक्षलाई राष्ट्रपति बनाउने कुरा हावामै आयो, हावामै गयो जस्तो लाग्छ। त्यति सजिलोसँग नेकपा(एमाले)को तर्फबाट फेरि माधवकुमार नेपाल त्यो पनि एकीकृत समाजवादीका अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिट्टै सजिलोसँग राख्लान् जस्तो लाग्दैन।”