न्यारोबडी ३२० को इन्जिन २३ महिनादेखि इजरायलमा, फिर्ता ल्याउन निगमकै ‘बहानाबाजी’

इजरायलमा इन्जिन पुर्‍याएपछि ए३२० विमान १४९ दिन ग्राउन्डेड भएको थियो। त्यो अवधिको क्षतिपूर्तिबापत निगमले आईएआईसँग ९५ लाख डलर माग गरेको छ। आईएआईले भने ५ लाख डलर मात्रै दिने अडान लिएको छ।

काठमाडौँ– नेपाल वायुसेवा निगमले मर्मतका लागि इजरायल पठाएको एयरबस ३२० को एउटा इन्जिन फिर्ता ल्याउन ‘बहानाबाजी’ गरिरहेको पाइएको छ।  

निगमले ए३२० विमानको बिग्रिएको इन्जिन मर्मतका लागि २०८० भदौ ३१ मा इजरायल एरोस्पेस इन्ड्रस्ट्रिज (आईएआई)मा पठाएको थियो। यसबीचमा तीनवटा इन्जिन मर्मतका निम्ति इजरायल लगेर फिर्ता ल्याइएको छ। तर, भदौ ३१ मा लगिएको इन्जिन भने मर्मत भएर फिर्ता लैजान अनुरोध आएको ८ महिनासम्म पनि ल्याइएको छैन। 

इन्जिन मर्मतमा लगेपछि शर्तअनुसार आईएआईले नै खोजिदिएको भाडाको इन्जिन (२०८० असोज ११)का लागि दैनिक २ हजार डलर नियमित तथा अरू ‘साइकल रेसियो’मा दैनिक झन्डै १० लाख रुपैयाँ खर्चेर विमान उडाउने काम भइरहेको छ। 

यो अवधिको भाडा प्रयोजनमै निगमले ४० करोड रुपैयाँ खर्चिइसकेको छ। तैपनि आफ्नै इन्जिन मर्मत तथा विलम्ब शुल्कबापत झन्डै १ अर्ब रुपैयाँ (९५ लाख डलर)को खर्च व्ययभार नतिर्न निगमले बहानाबाजी गर्दै आएको इन्जिनियरिङ विभागका एक प्राविधिकले बताए । 

निगमका उच्च अधिकारी भाडाको इन्जिनमा पाइने कमिसन तथा चलखेलमा केन्द्रित भएको ती प्राविधिक बताउँछन्। “यो विषय पनि अहिले अख्तियारको छानबिनमा छ,” उनी भन्छन्, “यसै साता अख्तियारलाई ए३२० विमानको इन्जिन मर्मत तथा भइरहेको ढिलाइबारे प्रस्तुति दिने तयारी भइरहेको छ। यो मुद्दालाई पनि विगतको अन्तर्राष्ट्रिय टिकट वितरण (जीडीएस)को अनियमितताझैँ तामेलीमा राख्ने प्रयास भइरहेको छ।” 

त्यसमा पनि आगामी कात्तिक पहिलो साता चार बर्से कार्यकाल पूरा गरेर बिदा हुन लागेका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इजरायलमा अड्किएको इन्जिन फिर्ता ल्याउन पहल नगरी अब आउने पदाधिकारीका लागिसमेत असहज अवस्था बनाइदिएका छन्।

“इजरायलमा इन्जिन पुर्‍याएपछि ए३२० विमान १४९ दिन ग्राउन्डेड भएको थियो। त्यो अवधिको क्षतिपूर्तिबापत नेपाल वायुसेवाले आईएआईसँग ९५ लाख डलर रकम माग गरेको छ। जबकि आईएआईले भने ५ लाख डलर मात्रै क्षतिपूर्ति रकम दिन चाहेको छ,” इन्जिनियरिङ विभागका एक अधिकारी भन्छन्, “यो अन्तर हेर्दा पनि कुनै बिन्दुमा सहमति हुने वा समझदारीमा इन्जिन फिर्ता हुन सक्ने देखिन्न।” 

यही इन्जिनको मर्मत र भइरहेको ढिलाइका कारण संसदीय समितिसहित विभिन्न फोरममा गएर स्पष्टीकरण दिनुपरेको र आफ्नो इज्जतमाथि प्रश्न उठेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीले आईएआईसँग १५ करोड रुपैयाँ थप क्षतिपूर्ति माग गरेका छन्।  

यो इन्जिनसहितका मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गठित छानबिन समितिले व्यवस्थापकीय लापरबाहीका कारण निगम थलिँदै गएको निष्कर्ष निकालेको थियो। प्रतिवेदनमा ‘बायुयान ए३२० का हकमा जडान गरिएको ४ वटै भी–२५०० इन्जिनको मर्मत तथा मर्मतमा पठाउँदा विमान सञ्चालन गर्नका लागि भाडामा इन्जिन लिएर सञ्चालन गर्ने उद्देश्यले एउटै टेन्डर प्याकेज प्रक्रियाबाट छनोट गरी चार वटा इन्जिनको लागि चार वर्षको सम्झौता गरेको तर सम्झौताअनुसार इन्जिन मर्मतमा पठाउँदा सो संस्थाबाट भाडाको इन्जिन समयमा प्राप्त नभएको’ उल्लेख छ। 

इन्जिनको नियमित प्राविधिक परीक्षणका क्रममा ए३२० को अर्को इन्जिन भी–१७६७९ समेत बिग्रिएको पाइएपछि २०८० मंसिर १४ देखि विमान ग्राउन्डेड भएको थियो। पहिले बनाउन पठाएको इन्जिन समयमा नबन्नु र मर्मतसम्भार संस्था आईएआईले सम्झौताअनुसार, अर्को लिज–इन्जिन उपलब्ध नगराएकाले विमान लामो समय इजरायलमै रहेको थियो। त्यसको ६ महिनापछि मात्रै विमान काठमाडौँ फर्किएर नियमित उडान शुरू भएकाले ग्राउन्डेड अवधिको व्ययभारले निगम अझ थलिएको प्रतिवेदनमा लेखिएको छ। यसले निगमलाई १ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ। 

null“अहिले आईएआईले पनि आफ्नै कानूनी आधार र कारण देखाएर अधिकार मागिरहेको छ, हामी निगमले पनि कानूनकै आधारमा आफ्नो क्षतिपूर्ति दाबी गरिरहेका छौँ,” निगमका प्राविधिकतर्फका प्रवक्ता मनोजकुमार शाहले भने, “त्यसमाथि पछिल्लो समयमा इजरायल आफै युद्ध क्षेत्रमा रहेकाले हाम्रो सामानको सुरक्षाका कारण पनि तत्काल इन्जिन फिर्ता भइहाल्ने स्थिति देखिन्न।” 

प्रवक्ता शाहले अब तीन महिनामा कार्यकाल पूरा गर्न लागेका कार्यकारी अध्यक्ष अधिकारीका कारण इन्जिन फिर्ता ल्याउनमा ढिलाइ भइरहेको भन्ने भनाइ सही नभएको बताए। कार्यकारी अध्यक्ष रहे पनि वा गए पनि निगम रहिरहने र कानूनी अधिकारसहित समझदारीमा इन्जिन फिर्ता ल्याउने सहितका प्रक्रिया जारी रहने उनको भनाइ छ। इन्जिनको मर्मत तथा ढिलासुस्तीबारे अख्तियारले छानबिन गरिरहेकोबारे आफू जानकार नरहेको उनले बताए। 

इन्जिन मर्मत भइसकेकाले फिर्ता लैजान पत्राचार गरेको लामो समयसम्म पनि भइरहेको ढिलासुस्तीमा थपिएको विलम्ब शुल्कसहित आईएआई निगमविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जान सक्नेबारे पनि बहस शुरू भएको छ। 

अर्को इन्जिन ९ वर्षदेखि स्पेनमा
निगमकै बोइङ ७५७ को एउटा इन्जिन सन् २०१६ मा मर्मत गर्न स्पेनको आइबेरिया पठाइएको थियो। उक्त इन्जिन पनि फर्काइएको छैन। इन्जिनको मर्मतसम्भार र अवस्था बुझ्नका लागि विमानका पदाधिकारी स्पेन जाँदै आउँदै गर्ने गरेका छन्। तर, इन्जिन भने फिर्ता आएको छैन। तत्कालीन निर्देशक उपेन्द्र पौडेल र किशोर प्रधान इन्जिन मर्मतको अध्ययन भ्रमणमा आइबेरिया पुगेका थिए। 

यो पनि: वाइडबडी घोटाला मुद्दामा निगमका तत्कालीन निर्देशक अधिकारी कसरी छुटे?

“इन्जिन नभएकै कारण र प्रविधि अद्यावधिक गर्ने नाममा बोइङ ग्राउन्डेड हुँदै रिप्लेस हुने अवस्था आयो तर, इन्जिन फिर्ता गरिएन। बोइङपछि एयरबस ल्याइएपछि त्यो आफ्नो सम्पत्तिको कहीकतै उल्लेख गर्नै छाडिएको छ,” निगमका एक प्राविधिक भन्छन्, “त्यसबेला ३५ मिलियन डलर पर्ने इन्जिनको मूल्य अहिले ५ मिलियनमा झरेको छ। यसबारे निगमका नियामक निकायले पनि सरोकार राख्न छाडेका छन्।”