शक्तिशाली भूकम्पपछि आएको सुनामीले ह्वेलहरूलाई बगाएर किनारमा ल्यायो

रुसको सुदूरपूर्वी भागमा गएको ८.७ म्याग्निच्युडको भूकम्पपछि समुद्रमा आएको सुनामीले चार वटा ह्वेललाई बगाएर जापानी तटमा ल्याएको छ।

रुसको सुदूरपूर्वी भागमा गएको ८.७ म्याग्निच्युडको भूकम्पपछि समुद्रमा आएको सुनामीले ह्वेलहरूलाई बगाएर जापानी तटमा पुर्‍याएको छ।

बेलायती सञ्चारमाध्यम मिररका अनुसार सुनामीले चार वटा ह्वेललाई बगाएर जापानको चिबाको तातेयामा शहरछेउ समुद्री किनारमा पुर्‍याएको हो। यसका भिडियो जापानमा स्थानीय टेलिभिजनमा प्रशारण भएका छन्।

तट नजिकै पानीको स्तर र छालहरूमा हुने द्रूत र नाटकीय परिवर्तनका कारण सुनामीको समयमा ह्वेलहरू किनारमा आउन सक्छन्। जब छालहरू किनारमा पुग्छन्, पानी शुरूमा तीव्र गतिमा तटबाट पछाडि हट्छ जसले समुद्र तट नजिकै ह्वेलहरूलाई अलपत्र पार्न सक्छ।

बुधबार बिहान रुसको कामचट्का प्रायद्वीप नजिकै केन्द्रविन्दु बनाएको यो भूकम्प इतिहासमा रेकर्ड गरिएको छैटौं ठूलो भूकम्प हो। भूकम्पले ल्याएका  सुनामीका छालहरू पहिले नै रूसको कुरिल टापुहरू, जापानको उत्तरी टापु होक्काइडो र अमेरिकाको हवाईका केही भागहरूमा आइसकेका छन्।

अलास्का र अमेरिकाको प्रशान्त तटमा पनि सुनामी निगरानी राखिएको छ। जापानका लगभग २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ, जसमा अधिकांश विस्थापितहरू होक्काइडो, कानागावा र वाकायामा प्रिफेक्चरबाट आएका छन्।

विभिन्न सुनामी चेतावनी प्रणालीहरूका अनुसार मेक्सिको, चिली र इक्वेडर लगायत दक्षिण अमेरिकाका केही भागहरू पनि जोखिममा छन्। यो भूकम्प २०११ पछि रेकर्ड गरिएको सबैभन्दा ठूलो भूकम्प हो। त्यतिबेला ९.९ म्याग्निच्युडको भूकम्पले जापानभरि १९ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको थियो र सुनामीका छालहरू ४० मिटर उचाइमा पुगेका थिए।