कमला सिँचाइ आयोजनाले ठूलो क्षेत्रफलमा सेवा पुर्याए पनि हाल नदीमै पानीको सतह घटेका कारण नहरमा पर्याप्त प्रवाह हुन सकेको छैन। यस्तो अवस्थामा आलोपालो प्रणाली लागू गरिएको छ।
सिरहा– भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन्। रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ! उनी ढुक्क हुन सकिरहेका छैनन्। लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शंका उनको मनमा गडेर बसेको छ। “नहरको पानीले खेत भरिन्छ भन्ने आशा छ, तर कहिलेकाहीँ नहर सुकेको देख्दा मन अमिलो सुक्छ,” उनी भन्छन्।
नहरले धोका पो दिन्छ कि भन्ने डर उनमा मात्रै होइन, पूरै गाउँका किसानमा छ। समयमा वर्षा नहुने, कहिले धेरै त कहिले थोरै पानी पर्ने पछिल्ला वर्षहरूका अनुभवले किसानलाई निश्चिन्त हुन दिएको छैन। श्यामलाल जस्ता किसानको जीवन खेतीकिसानीमै निर्भर छ। त्यसैले रोपाइँ ढिला भयो भने ‘सिजन चुक्ने’ डर, बाली राम्रो भएन भने वर्षभरिको आम्दानी गुम्ने पीर। यस्तो अवस्थामा सिँचाइ नहर नै यहाँका किसानको भरोसा बनेको छ। तर त्यो आधार पनि मजबुत छैन।
कमला नहरले जगाएको ‘आशा’
श्यामलालको गाउँ नजिकैबाट बगेको कमला सिँचाइ नहर धेरैको आशाको केन्द्र हो। नेपालका ठूला सिँचाइ आयोजनामध्ये एक कमलाले थुप्रै किसानको जीवनशैलीमा ठूलो परिवर्तन ल्याइरहेको छ। यसको ऐतिहासिक महत्त्व पनि उत्तिकै छ। २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको यस आयोजनामार्फत २०४० सालदेखि सिँचाइ सुविधा शुरू भएको हो।
कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार हालसम्म यस आयोजनाले पूर्वी खण्डअन्तर्गत सिरहातर्फ करिब १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएको छ। विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसानहरूले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन्। यस्तै, पश्चिम खण्डअन्तर्गत धनुषातर्फ १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।
कमला सिँचाइ आयोजनाले ठूलो क्षेत्रफलमा सेवा पुर्याए पनि हाल नदीमै पानीको सतह घटेका कारण नहरमा पर्याप्त प्रवाह हुन सकेको छैन। यस्तो अवस्थामा पनि किसानलाई राहत दिने उद्देश्यले कार्यालयले आलोपालो प्रणाली लागू गरेको जनाएको छ।
“नहरमा पानीको सतह कम भएकाले शाखागत रूपमा पालो मिलाएर सिँचाइ व्यवस्था मिलाइएको छ,” कार्यालय प्रमुख यादवले भने, “धान रोपाइँलाई ध्यानमा राख्दै असार ९ गतेदेखि नहरमा पानी प्रवाह गरिएको थियो, तर कमला नदीमै पानीको बहाव कम भएकाले सिँचाइमा चुनौती देखिएको छ।”
उनका अनुसार आवश्यक मात्रामा पानी नआउँदा नहरका सबै शाखा प्रशाखामा एकैपटक सिँचाइ सम्भव नभएकाले विकल्पमा पालो प्रणाली लागू गरिएको हो। यसले सबै किसानको आवश्यकता एकैपटक पूरा गर्न नसकिए पनि सबै ठाउँमा पानी पुर्याउन सजिलो भएको छ। “हामीले अनुगमन र व्यवस्थापनलाई सशक्त बनाएका छौँ। पानीको बहाव बढेपछि नियमित आपूर्ति सुनिश्चित गर्नेछौँ,” प्रमुख यादवले भने।
खुट्टीखोला सिँचाइ नहरको सपना अधुरै
कमला नहरले राहत दिएको छ, तर सिरहाको पूर्वी भेगका किसानलाई लक्षित गरी बनाउने भनिएको लहान नगरपालिका–१० स्थित खुट्टीखोला सिँचाइ आयोजना अझै अधुरो छ। चार वर्षअघि झन्डै रु नौ करोड लागतमा निर्माणको मुख्य संरचना सम्पन्न भइसक्दा पनि खुट्टीखोलाको पानी अझै किसानको खेतसम्म आइपुगेको छैन।
“सिँचाइ आयोजनाको मुख्य संरचना ‘हेडवर्क्स’ तयार छ। नहर पनि बनेको देखिन्छ, तर नहरमा पानी सञ्चालन गरिएको छैन,” लहान–११ का किसान धर्मराज चौधरीले भने, “हरेक वर्ष नहरमा पानी आउने आशामा खेत तयार गर्छौं, तर अन्ततः प्रकृतिमै भर पर्नुपर्छ।”
खुट्टीखोला सिँचाइ आयोजना शुरू हुँदा किसानमा निकै उत्साह थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आए जिल्लाको पूर्वी भागमा सयौँ हेक्टर खेत सिञ्चित हुने थिए, तर मुख्य नहर बने पनि शाखा नहर, नियन्त्रण गेट, पानी प्रवाहका लागि आवश्यक सानोतिनो संरचना अझै अधुरै छन्।
यस आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीलगायत चारवटा पालिकाको ९३५ बिघाभन्दा बढी खेतमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। ‘हेडवर्क्स’ बनेपछि उत्साहित बनेका किसान चार वर्षसम्म खेतमा पानी आउने सुनिश्चितता नभएपछि निराश छन्। नहर सञ्चालनको माग गर्दै किसानले संघर्ष समिति गठन गर्नुपरेको थियो। त्यसको दबाबपछि नहर पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको छ।
मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले स्थानीय सरकार किसानका आवश्यकताप्रति संवेदनशील नहुँदा सिँचाइ नहरको काम अगाडि नबढेको बताउनुहुन्छ। बर्सेनि पानीको अभावले धान रोप्न नसकिएको अवस्थामा नहर सञ्चालन हुनु जीवनरक्षासँग जोडिएको विषय भएकाले त्यसलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
“बर्सेनि पानीको अभावमा बाली सुक्छ। यस्तो अवस्थामा सिँचाइ पूर्वाधारको उपेक्षा गर्नु जनताको जीवनमाथिको खेलबहाड हो। नहर राजनीतिक विषय होइन, यो जीवन र खाद्य सुरक्षासँग जोडिएको विषय हो, त्यसैले तत्काल बाँकी काम हुनुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
