मनसुनको ६० दिन: देशभर सरदरभन्दा कम वर्षा, मधेश बढी प्रभावित

मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र अन्य स्थानमा किसानलाई पनि धान रोपाइ र बालीनाली लगाउन समस्या भइरहेको प्राधिकरणले जनाएको छ।

मनसुनको ६० दिन: देशभर सरदरभन्दा कम वर्षा, मधेश बढी प्रभावित
तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जनाएको छ। 

जेठ १५ गते नेपाल भित्रिएको मनसुनको बुधबारसम्मको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो। 

मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो। त्यसपछि सक्रिय रहेको मनसुन केही समय निष्क्रिय रह्यो। असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ छ। 

उनका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्रै ४३ जनाको मृत्यु भएको छ। मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष घटना पनि कम घटेका छन्। मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ। 

यसबीचमा असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ। “वर्षा नै नभई रातको समयमा अकस्मात् बाढी आएका कारण स्थानीय सुरक्षित ठाउँसम्म पुग्न समय नै पाएनन्,” प्राधिकरणले भनेको छ, “बाढीका कारण २० जना बेपत्ता भएकामा १२ वटा शव तथा मानव अंग फेला पारिएको छ। त्यसमध्ये दुईवटा शवको मात्र पहिचान भएको छ।”

बेपत्तामध्ये दुईजना सम्पर्कमा आइसकेका र सोही बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–८ इन्द्रेणीघाटमा फसेका एक दम्पतीको हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

यस वर्षको मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र धान रोपाइ र बालीनाली लगाउनुपर्ने बेला भएकाले त्यहाँको जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणले प्रतिवेदनमा उल्लेख छ। 

पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेश प्रदेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ भने संघीय सरकारले यही साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।  

यसै सन्दर्भमा प्राधिकरणले राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेशकेन्द्रित गर्न अनुरोध गरिसकेको जनाएको छ। 

तीनै तहका सरकार र विभिन्न संघसंस्थाहरूको सहकार्यमा दीर्घकालीन समाधानका लागि पिउने पानी र सिँचाइको सम्भाव्यता खोजी गर्ने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ।