गुण्डागर्दीमा संलग्नमाथि काठमाडौँ प्रहरीको अपरेसन, चक्रे मिलनसहित ८० भन्दाबढी पक्राउ

रातको समयमा शान्ति सुरक्षामा खलल पुग्ने, झैझगडा गर्नेलगायत गतिविधि हुने गरेको गुनासोपछि अपरेसन चलाएर संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले जानकारी दिए।

काठमाडौँ– गुण्डागर्दीमा संलग्नमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार राति चलाएको अपरेसनबाट ८० जना भन्दाबढी पक्राउ परेका छन्।पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सहित ८० जना भन्दाबढी रहेको प्रहरीले जनाएको छ। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले रातिको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी गतिविधि गरिरहेका व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनकाअनुसार महाराजगन्जस्थित साम्बाला होटलबाट चक्रे मिलनसहित ५० जनालाई नियन्त्रणमा लिइएको छ। त्यस्तै टोखाबाट १५ जना र स्वयम्भूको वाफलबाट १३ जनालाई नियन्त्रणमा लिइएको छ। राति टोखामा दुई पक्ष झगडा गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीको कमान्डमा बिहीबार राति अपरेसन चलाइएको थियो। “विगतमा आपराधिक गतिविधिमा संलग्न, गुण्डागर्दी गर्दै आइरहेकालगायत व्यक्तिमाथि निगरानीका क्रममा पक्राउ गरिएको हो,” एआईजी तामाङले भने, “छानबिन गरिरहेका छौँ।”

राति चक्रे मिलन आफ्नो जन्मदिन मनाइरहेको समयमा प्रहरी पुगेको थियो। उनको जन्मदिनको पार्टीमा ५० जनाको संख्यामा सहभागी भएर होहल्ला गरिरहेका थिए। सोही अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेका थिए। 

बुधबार मात्र प्रहरीले ठमेलस्थित दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङलाई पक्राउ गरेको थियो। अर्को समूहसँग झैझगडा गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो। गुरुङ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’ का सहयोगी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातिको समयमा शान्ति सुरक्षामा खलल पुग्ने, झैझगडा गर्नेलगायत गतिविधि हुने गरेको गुनासोपछि अपरेसन चलाएर संलग्नलाई पक्राउ गरिएको जानकारी दिए।

“पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिन्छ,” उनले भने,“सवारी जाँचलगायत काम मात्र होइन रातिको समयमा मानिस भेला भएर शान्ति सुरक्षामा खलल पुग्ने गरेर होहल्ला गर्ने र झैझगडा गर्ने गतिविधि नियन्त्रणमा लिन अपरेसन गरिएको हो।” 

उनले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान हुने बताए। काठमाडौँ प्रहरीले बिहीबारराति ठमेल, महाराजगन्ज, टोखा, बसपार्क क्षेत्रलगायत विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो।