स्याब्बास गाउँ फर्कने सुन्दर दाइहरू

हामीले पनि सुन्दर दाइको साथीका रूपमा मेयरसँग चिनापर्ची गर्यौं। काठमाडौँ छिरेर जागिरको कर्मकाण्डमा लागेका हामीहरूको परिचय कर्मवीर सुन्दर दाइको जस्तो त के होस्!

बिस चोटि जति आयो होला फोन। पालैपालो। एकै जनालाई गर्दा पट्यार लाग्ला भनेर वा आलोपालो गर्दा खाट्टी कुरा बुझ्न सजिलो हुन्छ भनेर हो, त्यो त उनै जानून्। फोनमा ‘कहाँ आइपुगियो’ भन्ने प्रश्न त हुन्थ्यो नै, घरि परिपरिका परिकार तयार भइरहेको जानकारी हुन्थ्यो, घरि बीच बाटोमा नअल्मल्लिइकन आउन आग्रह।

हामीलाई बेलैमा आइपुगून् भन्नका खातिर दाइले अनेकानेक तरिका अपनाउँथे। फोन राख्नासाथ हामी चाहिँ ‘उनको आशय यो हो, यति कुरा चाहिँ थपथाप गरेका होलान्’ भन्दै अनुमान लगाउथ्यौँ। उनीसँगका किस्सा अनेक थिए। यसै नि साथी, त्यसमाथि जिग्री जो परियो।

पुग्दा ढिलै भयो। बेलैमा हिँड्न पाइएन। अफिस भ्याएर, भेला भएर बाटो लागुन्जेलको लनतन मिलाउन समय लाग्यो नै। ‘आइपुगी हालेँ’, ‘अब पाँच मिनेट मात्र है’ भन्ने साथीहरू आइपुग्न धेरै वटा पाँच मिनेट बिताउनु हाम्रो लागि सामान्यजस्तै छ। निस्कँदै गर्दा घाम हामीभन्दा पहिले काठमाडौँ छोड्ने प्रतिस्पर्धामा थियो।

सुजन दाइ, नवराज दाइ, माधव, शंकर र म चढेको बिजुली गाडी ज्योति कृषि फार्म मेघौली छिर्दा घडीको घण्टा सुइरोले ९ नाघेको थियो।

हामी पुग्नु र बत्ती जानु सँगै भयो। हालखबर सोधखोजभन्दा पहिले उज्यालोको बन्दोबस्त गर्नुपर्ने भयो। बत्ती गइरहने बानी लागिसकेकाले होला, चार्जवाला टर्चको जोरजाम गरिइसकिएको रहेछ। मोबाइल घोप्टो पारेर लाइट बाल्न परेन। प्रसंग निस्कियो कुलमानको।

बिजुली र कुलमान एकै सिक्काका दुई पाटाजस्ता बनेका छन्। तीन चार महिनामा अवधि पुगेरै बिदा हुन लागेका उनलाई जोरजबर्जस्ती गरेर हटाउनु पर्थेन भन्नेमा हामी सबै सहमत देखियौँ। सुजन दाइ र म अझ बढी नै सहमत थियौँ। यही मेसोमा सुजन दाइले सँगै रहेका कांग्रेस निकट साथीहरूलाई व्यंग्यको एक वाण छोड्नुभयो। मैले अर्को कुनोबाट हो मा हो मिलाएँ। त्यसैमाथि सुन्दर दाइले शालिन ढंगले सहमति जनाएपछि हामी हाबी भैहाल्यौँ। 

nullसुन्दर दाइ, अर्थात् ज्योति कृषि फर्मका सञ्चालक। थाहा छैन आमाले, बाले वा पुरोहितले राखेका हुन् उनको नाम। जे जसरी राखिएको भए पनि मुसुक्क नहाँसी नबोल्नु, सबैसँग फर्स्याइलो हुनु, रिस नदेखाउनु जस्ता उनका विशेषता साँच्चै सुन्दर छन्। 

पछिल्ला केही वर्ष उनी अझ सुन्दर कर्ममा व्यस्त छन्। आफ्नो जीविकाको जोहो मात्र होइन, स्थानीय उद्यमशीलताको उदाहरण र प्रेरणाको स्रोत बनेका छन्। ‘पढेलेखेका मानिसले गर्न नहुने’ भाष्य बोकेको कृषि क्षेत्रमा उनी (र उनीजस्तै अरूहरू)को आगमन र उपस्थितिले विशेष अर्थ राख्छ। 

***
रोजेर वा रोजीरोटीले, केही गर्ने टुंगो नै लागेर वा ‘केही न केही त कसो नहोला’ भन्ने भरोसाले हाम्रा लागि शहरहरू ‘रहरका शहर’ बनेका छन्। गाउँमा ‘विकास’को सडक पुग्दै गर्दा गाउँबाट मानिस चाहिँ त्यही सडकबाट झिटिगुण्टा गुटुमुटु पारेर शहर पस्दो छ। शहर पसेपछि र यतै बसेपछि जान्नेसुन्ने होइने भ्रमले होस् वा दुःख गर्न पर्दैन भन्ने भाष्यले यतै भास्सिने परिपाटी चल्दै आएको छ। अनि त सिंगो रनवन छोडेर, एउटा कुचुक्क कोठालाई संसार मानेर, कोठामा काँटी ठोक्न र मजाले खोक्नधरी नपाएर पनि हामी नयाँ परिवेशमा अनुकूलित हुँदा छौँ।

दिनभरि यता र उता बत्तीएरै पनि शहरमा रत्तिएकै छौँ। ठूला चाडबाड वा कुलपूजाको मेसोमा फर्किजाने, केही फोटो भिडिओ खिच्ने अनि विगतको स्मृतिमा भावुक भएर भर्चुअल संसारमा ‘फिलिङ नोस्टाल्जिक’ हुनु धेरैको साझा अवस्था बन्दो छ। छोराछोरी नफर्किए पछि गाउँमा गरिखान नसकिने भयो भनेर शहर पसेका आमाबाहरूको सपनामा गाउँ आइराख्छ।

तर अपवादै सही, शहरको उकुसमुकुस र भागम्भागबाट वाक्कदिक्क भएर सुबिस्ताको सास फेर्न गाउँ फर्कनेहरू पनि छन्। सुन्दर न्यौपाने तिनैमध्येका एक हुन्।

स्याङ्जाबाट स्नातक पढ्न काठमाडौँ छिरेका सुन्दरले झण्डै एक दशक यतै जुत्ताका तलुवा खियाए। ग्रामीण विकास विषयमा त्रिभुवन विश्वविद्यालयबाट पहिलो श्रेणीमा स्नातकोत्तर तह छिचोले। जागिरका लागि बायोडाटा र प्रमाणपत्रका फोटोकपी क्लियर ब्यागबाट निकालेर कयौँ ठाउँमा बुझाए। पढिसकेपछि केही समय ‘जागिर खोज्ने जागिर’ गरे।

रिसेप्सनिस्टबाट ‘सर्ट लिस्टिड हुनुभयो भने हामी कल गर्छौं नि है’ भन्ने जवाफ लिएर डेरा फर्किए। घरबेटीलाई बेलाबेला ‘मेरो फोन आयो कि?’ भन्ने सोधखोज गरिरहे। घरिघरि त यस्तो पनि लाग्यो कि– कतै जागिरका लागि फोन आउँदा घरबेटीले थाहै नपाएर उठाएनन् कि! अनि अर्कै मान्छेले पो जागिर पायो कि! मनलाई कल्पना र आशंकाको कुनै छेकबार भए पो!

nullसाथीहरूबीच कानून पढ्यो भने त कामको खाँचो हुँदैन भन्ने गाइँगुइँ चल्यो। नेपाल ल क्यामपसमा एलएलबी भर्ना भए। त्यो चल्दै थियो। मनले सुझायो– अर्को विषयमा पनि स्नातकोत्तर पास गर्न पाए पो जागिर खान सजिलो हुन्थ्यो नि! अर्को विषय अर्थात् स्नातक तहमा पढेको नेपाली विषय। नेपाली केन्द्रीय विभागमा भर्ना भए।

पढाइमै दुई दशक बितिसकेकै थियो। अझै केही वर्ष थप बिताउन के समस्या भयो र? दुई विषयमा ‘डिग्री’ सकेपछि त कसो केही नहोला? यही आशाको आभाले उनको अनुहार उज्यालो बनायो।

जागिर खोज्ने काम छोडेका थिएनन्। त्रिचन्द्र क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा ग्रामीण विकासको पढाइ हुन थालेपछि ‘पार्ट टाइम’ पढाउने काम मिल्यो। तनखाको त कुरा के गर्नु र! पढाइ भएका दिनको एक घण्टीको २५० रुपैयाँ जति आउँथ्यो। बिहान एउटा निजी कलेजमा पनि पढाउन थाले। पैसा धेरै थिएन, कलेज पढाउँछु भन्ने गफ लगाउन पाइएकै थियो।

उनी कक्षामा ‘डेभलमेन्टल थ्योरीज्’ अर्थात्, विकासका सिद्धान्तहरू पढाउँथे। ती सिद्वान्तका प्रवर्तकले ‘विकासका लागि यसो गर्नुपर्छ, उसो गर्नुपर्छ अनि विकास त गुटुङ्टुङ आउँछ’ भन्थे। लगत्तै फेरि आलोचकहरूले ‘यो सिद्धान्तको कामै छैन, यसले के को हुनु विकास’ भनेर खिसिट्युरी गर्थे।

फेरि अर्काथरी सिन्द्धातकार आउँथे र त्यसरी होइन यसरी हो विकासको मूल फुटाउने भनेर गफ लाउँथे। केही समयपछि तिनका पनि आलोचकको मालेताँती लागिहाल्थ्यो। एवम् रितले दर्जन बढी विकासका सिद्धान्त पढ्दा, तिनका मान्यता र रेखाचित्र घोक्दा, पास गर्दा र पढाउँदा सुन्दर सर रन्थनिएकै थिए। हाम्रो जस्तो देशमा विकासको कुन सिद्धान्त बढी उपयुक्त होला? ठ्याक्कै उत्तर दिन सहज थिएन। वर्षौंअघि एउटा निश्चित आर्थिक अवस्था र मान्यता भएको समाजमा लागू भएका सिद्धान्त अहिले हाम्रो परिवेशमा लागू हुन सक्ने अवस्था कहाँ होस्!

तैपनि पढे पढाएकामध्ये एउटा सिद्धान्तले बढी छोएको थियो सुन्दर सरलाई। ‘सुल्जको परम्परागत कृषिको रूपान्तरण’ सम्बन्धी सिद्धान्त बढी व्यवहारिक र आफ्नो निकट लाग्थ्यो। आफ्नो जरोकिलो कृषि नै भएकाले पनि होला उनी यो विषयमा बढी नै घोत्लिए। सुल्जले सन् १९६४ मा प्रतिपादन गरेको यो सिद्धान्तले श्रमिक र प्रविधिमा जोड दिएर परम्परागत कृषिको रूपान्तरण गर्न सकिने बताउँछ। कृषि श्रमिकलाई खुशी पार्न सके उनीहरूले बालुवालाई हिरा बनाइदिन सक्छन् भन्ने तर्कले सुन्दरको मनलाई तरंगित पारिरहेको थियो।

nullकहिलेकाहीँ हुन्छ नि, कुनै कुराले छोएको तर लागू गर्न सकिहाल्ने अवस्था नभएको अन्यमनस्क अवस्था। अथवा संक्रमणकाल। एक मनले भन्थ्यो– चितवन फर्की र कृषिको काम थाल्। अर्को मनले चोर औँलो उठाइहाल्थ्यो– भनेजस्तो भएन भने! सँगै आउँथ्यो लगानीको समस्या र जोखिम। त्योभन्दा ठूलो थियो ‘त्यत्रो पढेर पनि गाउँ फर्केर खेती गर्ने र!’ भन्ने मनको बाघ। भीरको चिन्डो भएरै केही समय बिताए उनले।

पढाउने सिलसिला चलिरहेकै थियो। एक दिन एक विद्यार्थीले सोध्यो, “सर यो ग्रामीण विकास पढेकाहरू गाउँको विकास गर्न गाउँगाउँ जानुपर्ने होइन र?”

अर्को दिन अर्को विद्यार्थीले सोध्यो, “हामीले पढेका र घोकेका यी थ्योरी नेपालमा कत्तिको सफल हुन्छन् भनेर कसैले प्रयोग गरेर हेरेको छ सर?” उनी नाजवाफ भए। 

पढेर यतै बसियो, गाउँ गइएन। ग्रामीण विकासका कुनै थ्योरीको व्यवहारिक प्रयोग नै गरिएन। के थाहा कस्तो पो हुन्छ? फेरि, गाउँ उस्तो टाढा पनि होइन। चितवन त हो। उनले पढे पढाएको सुल्जको सिद्धान्तमा भनिएजस्तो ज्याला थपेर खुशी बनाउन सके कृषि पनि ‘सुनको अण्डा दिने कुखुरी’ बन्ला त? 

उनको मन नराम्ररी बिथोलियो। यो ‘हेलमेट टिचर’को कामले कतिञ्जेल टिक्न सकिएला? न सेवा आयोग खुल्छ, न जागिर करारसम्म हुन्छ। न त बायोडाटा बुझाएका ठाउँहरूबाटै थप फोन आउँछ। उनको सोचबाट जागिर, तलब, पेन्सनजस्ता कुरा ओझेल पर्दै जान थालेका थिए। 

अब बढीमा दुई वर्ष मात्र पढाउँछु भन्ने अठोट गरे। ‘टिस्यु कल्चर’बाट केराका बिरुवा बनाउने प्रविधिबारे बुझिसकेका थिए। साथीहरूले खासै सुइँको पाएकै थिएनन्, बाहिरबाट हेर्दा पढाइरहेका देखिने सुन्दर सर भित्रभित्रै व्यवासायिक किसान बन्ने अठोट गरिरहेका थिए। त्यसबेलासम्म सुन्दर सरको परिवार चितवन झरिसकेको थियो।

***
२०७० सालमा चितवनको मेघौलीमा १० बिघा जग्गा लिजमा लिएर खोले ज्योति कृषि फार्म। उनले जातजातका केरा लगाए। ससुरा बा पेन्सन पकाएर निस्कँदै थिए। कृषिसम्बन्धी परियोजनामै काम गरेका कारण कुरा मिल्यो। ससुराको प्राविधिक ज्ञान तथा ज्वाइँको हिम्मतले कृषिको काम अघि बढ्यो। 

सुन्दर सर केरा खेतीबारे अध्ययन गर्न तथा बजार खोज्न भारत र नेपालका धेरै ठाउँ पुगे। केरा हुर्कंदै जाँदा केराको बिरुवा उत्पादनमा लागे। फार्मलाई व्यवहारिक अनुसन्धान केन्द्र जस्तै बनाए। शुरूमा खर्च बढी र प्रतिफल कम हुने नै भयो। बिस्तारै स्थानीय तहले कहिले सिँचाइमा, कहिले प्रांगारिक मल उत्पादन लगायतमा सहयोग गर्न थाल्यो। ‘काठमाडौँमा पढेर आएको केटोले कृषि कर्म थालेको छ’ भन्ने चर्चा चुलिँदै गयो। 

nullनाफा बढ्दै गयो, उनी रत्तिँदै गए। अहिले ज्योति कृषि फार्म ३३ बिघामा फैलिएको छ। २२ जनाले पूर्णकालीन रोजगारी पाएका छन्। उनीसँगै काम गरेका केहीले आफै पनि केरा खेती थालेका छन्। उनीहरूलाई सुन्दरले सघाएका छन्। “म मात्र उद्यमी बनेर भएन नि,” सुन्दर सुनाउँछन्, “यहाँ सिकेर आफै केही गर्छु भनेर कोही जान खोज्छन् भने म सकेको सहयोग गर्ने गरेको छु।”

एकातिर भोकाएका हामी, अनि अर्कातिर कतिबेला आउलान् भनेर कुरिबसेका सुन्दर दाइ र उनका सहयोगी भाइहरू। हाम्रो खानपान फार्मकै केरा र मेवा, काँक्रोलगायतबाट शुरू भयो। हाम्रो टोली आधा रातसम्मै राप्तीका माछा, हाँसको छोइलालगायत परिकारसँगको मस्त गफमा थियो। सुजन दाइ त साकाहारी, उनलाई पनिर थियो। खानपानसँगै आम्दानीको कुरा निस्कियो। 

“हेर केटा हो, तिमार्को जागिरजस्तो ठ्याक्क महिना मर्दा ट्वाक्क पैसा आउने भन्ने हुँदैन। फेरि हरेक वर्ष उस्तै कमाइ हुन्छ भन्ने पनि हुँदैन,” सुन्दर दाइ हामीलाई आफ्नो अनुभव कहिरहेका छन्।

nullहामी उनको सफलताका कुरा सुनेर दंग छौँ। हरेक वर्ष कहिले हावापानीले त कहिले कुनै रोगले कमाइ फरक पार्छ। तर तीन वर्षलाई आधार मान्दा औसतमा प्रतिवर्ष प्रतिकट्ठा १ लाख रुपैयाँसम्म बचत हुने उनको अनुभव छ। स्थानीय सरकारले पनि मल, बीउ, सिँचाइलगायतमा सहयोग गरिरहेकाले किसान र स्थानीय सरकारबीच होस्टेहैँसे राम्रै भइरहेको छ।

फार्म सञ्चालनको ऋण त छ, तर ज्योति कृषि फार्म अहिले चितवनकै राम्रामध्येमा पर्छ। यो फार्ममा विभिन्न क्याम्पस र विश्वविद्यालयका विद्यार्थी, किसान, उद्यमी तथा अनुसन्धाताहरू अध्ययन भ्रमणमा पुग्छन्।

जंगल सफारीका लागि हामी बसेको कुमाल होमस्टेमा बिहान सखारै जिप आइपुग्यो। जंगल पसिसकेपछि पनि केहीबेरसम्म देख्न खोजिएका जनावर र चरा नभेटाएपछि सुन्दर दाइको बेचैन बढ्दै थियो। ‘केटाहरूलाई केही देखाउन पाउँदिन कि क्या हो’ भन्ने भाव अनुहारमा स्पष्ट देखिन्थ्यो। केहीबेरमै जरायो, मृग, गैँडासँग देखाभेट हुन थाल्यो।

सफारी सकेर फर्कने क्रममा राप्ती किनारमै भरतपुरकी मेयर रेणु दाहालसहितको टोली भेट भयो। सुन्दर दाइलाई चिनाउँदै स्थानीय एक अगुवाले भने “उहाँचाहिँ हाम्रो मेघौलीमा एकदमै राम्रो केरा फार्म चलाइरहनुभएको अगुवा किसान। काठमाडौँमा दुई विषयमा डिग्री सकेर यहाँ आएर केराखेती गरिरहनुभएको छ।” 

मेयर खुशी भएको अनुहारबाटै झल्किन्थ्यो। कुनै सहयोग आवश्यक परे महानगरपालिका आउन आग्रह गर्दै उनले सामूहिक फोटो खिचिन्। हामीले पनि सुन्दर दाइको साथीका रूपमा मेयरसँग चिनापर्ची गर्यौं। काठमाडौँ छिरेर जागिरको कर्मकाण्डमा लागेका हामीहरूको परिचय कर्मवीर सुन्दर दाइको जस्तो त के होस्!

सुन्दर दाइ साथीहरूलाई परिपरिका परिकार चखाउन पाएकोमा दंग, हामी सुन्दर दाइको मेजमानीले मक्ख। माछामा मरिहत्ते गर्ने माधव, छोइलामा ज्यान छोड्ने म, ‘मिलाएर गर्नुपर्छ साथी हो’ भन्ने नवराज दाइ, जेमा पनि ठीक हुने साथी शंकर, अनि ठोस र तरल दुवैमा पूर्ण भेज रहेर पनि साथीका लागि सधैँ हाजिर हुने सुजन दाइसहितको हाम्रो टोली ग्रामीण विकास पढेर घरगाउँमै फर्किएको आफ्नै साथीको लोभलाग्दो प्रगतिले दंग।

फर्किंदा बाटाभरि गफमा सुन्दर दाइ छाइरहे। मेघौलीको कृषि फार्मकै दृश्य दिमागमा नाचिरह्यो।

लेखक अनि कृषिका पौरखी हातहरुलाई उच्च सम्मान ।

jhalak gaire

3 months, 2 weeks ago