‘सामाजिक सञ्जालको प्रभावले घर–घरमै कलाकार जन्मन थाले, गाईजात्रामा हास्यव्यंग्यको रौनक घट्यो’

‘हामीभन्दा हाम्रा नेतृत्ववर्ग बढी हास्यव्यंग्यले युक्त देखिन थालेका छन्। उनीहरूका क्रियाकलाप बढी हँसाउने हुन थालेका छन्।’

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे तीन दशकदेखि हास्यव्यंग्य लेखनमा सक्रिय छन्। उनका ‘दलालशाला’, ‘घिटिकघिटिक बाँचेको शहर’, ‘लाठीचार्ज’, ‘कत्ति धुनु गधाहरूलाई’, ‘पसिनाका पाइला’, ‘छोपछाप’लगायत १२ कृति प्रकाशित छन्। गाईजात्रा महोत्सवअन्तर्गत गाम्नागे आगामी भदौ ५ गते ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सहभागी हुँदै छन्। गाम्नागेसँग गाईजात्राका सन्दर्भमा उकालोकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानी:

तपाईंको लोकप्रिय कविता ‘मुला’ कस्तो सन्दर्भमा रचिएको कविता हो?
तीन दशकअघि लेखिएको यो कविताको पृष्ठभूमि मेरै वरपर घुमेको छ, मैले भोगेको र देखेको पनि छु। एउटा दुर्गम गाउँबाट काठमाडौँ आएर सामान्य जागिर गर्दै सपरिवार डेरामा बस्दा के कस्ता आर्थिक, व्यावहारिक समस्या बेहोर्नु पर्छ भन्नेबारेमा ‘मुला’ लेखेको हुँ। एक अर्कामा ख्याल ठट्टा गर्दै रमाउँदै र दुःखहरूलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छ भन्ने भावमा यो लेखेको हुँ।

तपाईंले आफ्ना कवितामा जनजीवनका कुरामा राजनीतिक भाव तथा संकेत–विम्ब कसरी जोड्नुहुन्छ?
वास्तवमा राजनीति भनेको हाम्रो संरक्षक र निर्देशक पनि हो। राजनीति राम्रो भयो भने तल (अरूतिर) आफै राम्रो हुँदै जान्छ। हास्यव्यंग्य लेखिरहँदा सामाजिक विषय, सरोकारमा जोडिएको राजनीति स्वतःस्फूर्त आइहाल्छ, जोडिरहनै पर्दैन। राजनीति भनेको एक प्रकारले घुलनशील विषय हो।

तपाईंको कविता लेखनी कसरी, कहिलेबाट शुरू भयो?
स्कुल पढ्दाताका ९/१० कक्षादेखि नै मैले कविता लेख्न थालेँ। स्कुलमा हरेक शुक्रबार साहित्यिक कार्यक्रम हुन्थे। पढाइमा पनि अगुवा भएकाले गुरुहरूले पनि साहित्यलगायतका कार्यक्रममा अगुवाइ गर्न भनिरहनुहुन्थ्यो। कविता सुनाउने, भित्तेपत्रिका निकाल्ने लगायतका सिर्जनात्मक क्रियाकलाप हुन्थे। त्यही क्रममा मैले भैरव अर्यालका कविता सुन्न पाएँ। अर्का हास्यव्यंग्यका प्रतिभा नरनाथ लुइँटेल हामीसँग एउटै स्कुलमा पढ्ने भएकाले उहाँको साथ सहयोग पनि रह्यो।

null

 

यस्तै, लामो समय लेखक डा. गोविन्दराज भट्टराईसँग संगत रहेकाले र उहाँको हास्यव्यंग्य चेतले पनि मलाई मलिलो बनायो। काठमाडौँ आएपछि चड्कन, रकेट लगायतका पत्रिका पनि शुरू गरेँ। २०५५ सालमा सिस्नोपानी नेपालको स्थापनापछि डुबेरै यस क्षेत्रमा लागियो।

तपाईं कवितासँगै निबन्ध विधामा पनि हुनुहुन्छ। तपाईंको विचारमा, हास्यव्यंग्य कत्तिको जटिल विधा हो?
हास्यव्यंग्य विधाभन्दा पनि लेखन आफैमा जटिल काम हो। हाँस्यको नाममा जथाभाबी चुड्किला लेख्ने, विशेषतः लैंगिक, जातीय लगायतका विविध विषयमा हल्का रूपमा उडाउने परम्परा पहिले देखिनै छ। व्यंग्यको नाममा एकदमै कडक प्रहार मात्रै गर्ने, सिस्नु मात्रै लगाउने तर पानी नछर्कने काम भने त्यति सही होइन। तितोमा अलिकति गुलियो नमिसाउने हो भने त्यो गालीगलौज मात्रै हुन्छ। यसकारण हास्यव्यंग्यमा म सन्तुलन खोजिरहेको हुन्छु।

‘दलालशाला’मा भ्रष्टाचारमाथि कडा रूपमा कलम चलाउनुभएको छ। यस्ता लेखनीका लागि अभ्यास, साधनासँगै हिम्मत पनि चाहिन्छ। ‘मकैको खेती’ लेख्दा राज्यले सजर्कमााथि गरेको ज्यादती पनि इतिहासमा उल्लेखित छ। तपाईंले पनि यस्तै केही खेप्नुपर्‍यो?
दलालशाला भने नेपाल साप्ताहिकमा प्रकाशित मेरो स्तम्भको संग्रह मात्रै हो। मकैको खेतीको कुरा गर्दा पहिले र अहिलेको समयमा एकदमै भिन्नता छ। हामी लोकतन्त्रमा बोल्न स्वतन्त्र छौ। यदाकदा लेखेबोलेकै आधारमा अहिले पनि कारबाही भइरहेकै भए पनि यस्तो कुरामा अलिकति आँट त हुनैपर्छ। बरु सम्बन्ध बिग्रिए पनि बिग्रियोस् तर विकृति, विसंगतिलाई उजागर गर्नैपर्छ भन्ने ठानेर लेख्ने गरेको छु।

null

त्यसोभए हास्यव्यंग्यले राजनीतिक/सामाजिक परिवर्तनमा कस्तो भूमिका खेल्दो रहेछ?
ठ्याक्कै गणितको जस्तो दुई प्लस दुई चार यसमा हुँदैन। साहित्यले गर्ने परिवर्तन ‘ब्ल्याक एन्ड वाइट’मा देखिँदैन तर यसको प्रभाव समाजमा अवश्य पनि हुन्छ। मकैको खेतीदेखि पञ्चायतकालमा चर्का जनवादी गीत गाउने, सांस्कृतिक कार्यक्रम गर्ने आदि हुन्थ्यो। सामाजिक चेतना जगाउने अर्थमा त्यस्ता काम भए।

हामी नै हास्यव्यंग्यका कार्यक्रम लिएर विभिन्न स्थानमा पुग्दा जनसाधारणले ‘तपाईंहरूले हाम्रै आवाज बोल्दिनुभएको छ, यो निरन्तर राख्नु होला’ भन्ने गर्नुभएको छ। कतिपय नेताले ‘तपाईंहरूले भनेका कुरा बोध भयो, अब सच्चिनेछौँ’ भन्नुभएको छ।

कुनै प्रकारको आलोचना वा ‘ब्याकस्ल्यास’ तपाईंले भोग्नुभएको छ?
संस्थागत हिसाबले भने सिस्नुपानीले गरेका कार्यक्रम सन्दर्भमा कतिपटक नेता हामीसँग रिसाउनु पनि भएको छ। हाम्रा कार्यक्रममा आइराखेका नेताहरू ‘अर्को पटकचैँ आइन्न’ पनि भनेका छन्। ‘तपाईंहरूले यसरी घोचपेच गर्नुहुन्छ म त आउँदिन’ भनेका घटना पनि छन्।

सिस्नुपानीले हास्यव्यंग्यलाई कसरी प्रवर्द्धन गरिरहेको जस्तो लाग्छ?
व्यंग्यका दुइटा धार छन् भन्ने मलाई लाग्छ। एउटा लेखनी अर्को रंगमञ्च। व्यंग्यचित्रको अर्को विधा पनि छ। तर, मुख्यगरी धेरै चलेको चाहिँ हास्यव्यंग्य नै हो।

लेखनीमा पनि हामीले अहिले निकै सुधार गरेका छौँ। महिला, नाबालक, मान्छेका बोलीचाली वा वैयक्तिक चरित्र वा स्वास्थ्यका विषयमा व्यंग्य गर्ने, उडाउने परम्परावादी शैलीमा धेरै हदसम्म सुधार गरेका छौँ। अझै पनि हँसाउने पक्षलाई बढी प्राथमिकता दिइँदा संवेदनशीलतालाई हलुका बनाइने गरेको अवस्था पनि छ, यो विचारणीय पक्ष हो।

null

अहिले हास्यव्यंग्यको अलि परिष्कृत, अझ अंग्रेजी भाषामा भन्दा ‘रोस्ट’, ‘स्ट्यान्डअप कमेडी’ चलिरहेको छ। यस क्रममा केही कलाकार कमेडी गरेकै कारण मुद्दा मामिला झेल्न पुगे। यसमा तपाईंको धारणा के छ?
व्यावसायिकतालाई बढी प्राथमिकता दिने क्रममा कहिलेकाहीँ अध्ययनको कमी हुन जान्छ। समय कसरी अघि बढिरहेको छ, हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन— यसमा आयोजकको पनि चेतना र विवेकको कुरा आउँछ।

कहिलेकाहीँ व्यंग्यात्मक प्रस्तुतिका क्रममा कलाकारको व्यक्तिगत जीवनलाई पनि जोडेर कुरा गरिन्छ। यस्तो अवस्थामा, तपाईंले आफू र सिस्नुपानीको कामलाई कसरी हेर्नुहुन्छ?
यसमा हामीले ठ्याम्मै त्रुटि गरेको छैनौँ, एकदमै चोखा छौँ भन्न म सक्दिनँ। यद्यपि, यसमा हामी अहिले धेरै सचेत भएर नै काम गरिराखेको छौँ। कहिलेकाहीँ कुनैकुनै कार्यक्रममा हामीले पाहुना कवि, पाहुना कलाकारमार्फत प्रस्तुत हुँदा एकदुई पटक त्यस्ता अलिकति केही प्रश्नचाहिँ उब्जिएका छन्। त्यसमा हामीले क्षमायाचना पनि गरेका छौँ।

गाईजात्रा हास्यव्यंग्यकर्मीका लागि महोत्सव थियो। पहिलेको जस्तो रौनक अहिले नभएको हो?
विगतमा गाईजात्रामा हास्यव्यंग्य पत्रपत्रिका उत्तिकै निस्कन्थे। कार्यक्रम, गोष्ठी पनि धेरै हुन्थे। त्यो बरु अहिले घट्दै गएको छ। खासगरी सामाजिक सञ्जालले जुन रूपमा विश्वव्यापी प्रयोग ल्यायो, सबै कलाकार घरघरमै हुन थाले। हाँस्ने कुराका टुक्राटाक्री तुरुन्तातुरुन्तै हातहातमा आइपुग्न थाले।

पहिले राज्य व्यवस्था निरंकुश हुँदा समाज बन्द थियो, गाईजात्रालाई माध्यम बनाएर अलि खुलेर लेख्न वा बोल्न पाइन्थ्यो। अहिले समाज खुल्ला छ, त्यसकारण रौनक कम देखिएको हुन सक्छ। फेरि हामीभन्दा हाम्रा नेतृत्ववर्ग बढी हास्यव्यंग्यले युक्त देखिन थालेका छन्, उनीहरूका क्रियाकलाप बढी हँसाउने हुन थालेका छन्।

अहिले तपाईंले कसैलाई ‘रोस्ट’ (व्यंग्यात्मक रूपमा आलोचना) गर्नुपर्‍यो भने कुन नेपाली संस्था वा व्यक्तिलाई रोज्नुहुन्छ?
म रोस्ट नै चैँ गर्दिनँ। तर अहिले सबैभन्दा रोस्टेड पर्सनालिटीचाहिँ हाम्रो प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली) नै हुनुहुन्छ। उहाँ चारैतिर सबैलाई रोस्ट गर्नुहुन्छ। उहाँले पनि रोस्ट गर्न मसला दिइरहनुभएको हुन्छ। उहाँको क्यारेक्टर पनि त्यस्तै खालको छ।

भिडियो