सिन्धुलीमा रूखले किचेर २ जनाको मृत्यु, तीन घाइते

वर्षासँगै आएको पहिरोले सालको रूख लडाएर टहरामा बज्रिँदा ओत लागेर बसेका दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जान घाइते भएका छन्।

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रूखले किच्दा दुई जनाको मृत्यु भएको छ। अन्य भने तीन जना घाइते भएका छन्। 

शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले एउटा सालको रूख टहरामा खस्दा ओत लागेर बसेका बालबालिका दुर्घटनामा परेका थिए।

टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। 

यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन्। तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।