चक्रे मिलनसहित १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

मिलन गुरुङ (उर्फ चक्रे मिलन)सहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौँ– मिलन गुरुङ अर्थात् चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए।

गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा चलाएको ‘अप्रेसन’ मा उनीहरू पक्राउ परेका थिए।

“घरेलु हातहतियार बोकी सार्वजनिक स्थलहरूमा समूह बनाएर हो–हल्ला गर्दै समाजमा शान्ति सुरक्षा बिथोल्ने तथा सार्वजनिक आवागमन अवरोध हुने गरी आम नागरिकमा त्रास उत्पन्न गराउने खालका अवाञ्छित क्रियाकलापमा संलग्न हुने निज १९ जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ,” उनले भने।

प्रहरीले गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट ४७ जना पक्राउ गरेको थियो। कतिपय असंलग्न व्यक्ति भएको पाइएकाले उनीहरूलाई छाडेको थियो। बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति मागेको थियो।