‘श्रेष्ठ पुस्तक’का सात चर्चा

मदन पुरस्कार २०८१ का लागि मदन पुरस्कार गुठीले २०८२ साउन ६ गते सार्वजनिक गरेको ‘श्रेष्ठ सूची’मा परेका सात पुस्तकको संक्षिप्त चर्चा हो यो।

साहित्य, सिर्जना र किताबकेन्द्रित पुरस्कार र सम्मानको देशव्यापी तथ्यांक बटुल्ने हो भने, सम्भवतः वर्षभर पुग्ने संख्या निस्कन्छ। केन्द्रदेखि मोफसलसम्म सरकारी, संस्था र व्यक्तिगत कोषबाट दिइने/बाँडिने सबै पुरस्कार/सम्मानले साहित्य र सिर्जनात्मक लेखनमा के कस्तो सकारात्मक प्रभाव पार्छ वा पारेको होला? सीमित शब्दभित्र समग्र चर्चा सम्भव छैन।

अग्लो ठाउँमा उभिएर नजर घुमाउने हो भने, अल्लि परसम्म देखिन्छ भन्ने सामान्य मान्यतामा अडिँदै पुरस्कार र सूचीबारे चर्चा गरौँ। नेपाली भाषामा लेखिएका साहित्यिक, गैरसाहित्यिक र सिर्जनात्मक पुस्तकका लागि दिइने निजीस्तरका पुरस्कारको कुरा गर्दा, आजका दिनसम्म मदन पुरस्कार गुठीले दिने ‘मदन पुरस्कार (स्थापना-विसं.२०१२)’को वजन ठूलो देखिन्छ। खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दिने ‘पद्मश्री साहित्य पुरस्कार (स्थापना -विसं. २०६३)’ मदन पुरस्कारको तुलनामा निकै ‘कान्छो’ भए पनि साहित्य र लेखन वृत्तमा चर्चा र चासो बढ्दै छ।

असार १५ गते पद्मश्री साहित्य पुरस्कारका लागि विभिन्न विधाका १५ किताबको विस्तारित सूची सार्वजनिक गरेको खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले साउन १५ गते पाँच किताबको संक्षिप्त सूची सार्वजनिक गरेको छ। कम्तीमा तीन वटा किताब दुवै संस्थाबाट सार्वजनिक सूचीमा समावेश छन्। ती सूचीमध्ये एक/एक वटाले सम्बन्धित पुरस्कार प्राप्त गर्नेछन्। मदन पुरस्कार २०८१ का लागि मदन पुरस्कार गुठीले २०८२ साउन ६ गते सार्वजनिक गरेको ‘श्रेष्ठ सूची’मा परेका सात किताबको संक्षिप्त चर्चा हो यो।

१. उरमाल-छुदेन काविमो
भुईं मान्छेको कथा र दुःखको थैली हो, उरमाल। रुमालको अर्थमा पाइन्छ प्रज्ञा शब्दकोशमा उरमाल। काविमोको यस रुमालमा समेटिएका छन्, मजदुर जीवनका अथाह पीडा र विस्थापन। यो उपन्यास कठोर यथार्थ र दुःखका भारीको दस्ताबेज हो। चिया बगानमा बिहानैदेखि बेलुकीसम्म पात टिप्न खटिने मजदुरका संघर्ष, विशेष गरी महिलाको अन्तहीन बोझ र बलिदान उपन्यासको केन्द्रीय भाव हो।

सकिला, सोमारी, नुरसाङ, ऐतमारी उपन्यासका नारी पात्र मात्र नभएर श्रमको बलिदानमा सम्पूर्ण जीवन बिताएका तिक्खर मान्छे हुन्। काविमोले जीवन्त श्रमिक पात्रमार्फत यस्तो आवाज दिएका छन्, जहाँ ‘तिम्रो भोलिका लागि हामीले आज बलिदान गरेका छौँ’ भन्ने कठोर यथार्थ उपन्यासको मूल मर्म बनेर आउँछ। नाङ्लो बुन्दा प्रशस्त चोया जोमक्नु परेझैँ अलग–अलग कथा जोमकेर भुईं मान्छेको औसत जिन्दगीको कोलाज बनाएका छन्, काबिमोले।

भुईं मान्छेका कथामा आञ्चलिक लवज गजबले प्रत्यारोपण गरेका छन्, उपन्यासकारले। उज्यालो देख्न नपाई झरिहाल्ने पारिजातका नरम र मसिना फूल बटुलेर जतनले माला गाँसेझै गरी, सुखको सासै फेर्न नपाएका चिया मजदुरको दुःख केलाएर काविमोले जन्तर बनाएका छन्। उनको लेखनशैली काल्पनिक छैन। डिटेलिङ, भाषा, परिवेश र लोक लवजको प्रयोगमार्फत उपन्यास यथार्थ लाग्छ। यद्यपि, उपन्यासको लम्बाइ, उपकथाको संख्या र ‘नायकत्व’को अस्पष्टताले कतिपय पाठकलाई अलमल पार्न सक्छ।

पहिलो उपन्यास ‘फातसुङ’मार्फत सानो क्यानभासमा शक्तिशाली प्रहार गरेका काविमोको यो उपन्यास आकारका हिसाबले बृहत् चित्रकारिता हो। उपन्यास मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार दुवैतर्फ श्रेष्ठ सूचीमा अटाएको छ। उरमाललाई फाइनप्रिन्टले प्रकाशन गरेको हो।

२. छालबाटो-रमेश भुसाल
वातावरण विज्ञानमा स्नातकोत्तर गरेका, वातावरण, जलवायु परिवर्तन र नदीनालाको नशा र चाल छाम्दै पत्रकारिता/रिपोर्टिङ गर्दै हिँडेका रमेश भुसालको छालबाटो वजनदार किताब हो। भुसालले काठमाडौँबाट केरुङ र कैलाश मानसरोवरसम्म अनि कर्णाली नदीको मूलस्थान तिब्बतदेखि गंगासम्मको नदीको मार्ग, प्रवाह र सभ्यताको हजारौँ किलोमिटर यात्रा र अवलोकनलाई ‘यात्रा विवरण’को सपाट शैलीभन्दा अझ माथि उभिई रोचक संस्मरणात्मक कलेबरमा प्रस्तुत गरेका छन्।

पुस्तकले कर्णाली नदी जता बग्छ, त्यतै त्यतैको प्रवाहलाई मूलबाटो ठानेर पछ्याउँदै हिँडे पनि किताबभित्र जल (नदी)को जीवन कहानी मात्र छैन, सामाजिक, सांस्कृतिक र पर्यावरणीय जीवन तथा मानव सभ्यतासँग जोडिएर आउने अनेक जिज्ञासाको समाजशास्त्रीय दृष्टिकोण छ। आफै कपास उब्जाउनु, त्यही कपासको कपडा लगाउनु, सुनको व्यापार गर्नु र काँसको थालमा भात खान पाउने स्तरको कतिपय स्थानीयको सामाजिक हैसियत आज कर्णालीको निकट इतिहासमा परिणत भएको छ।

कर्णाली दुर्गमता र गरिबीको विम्ब बनेको छ। कर्णाली नदीको सङ्लो पानीसँगै उँधो बगेका अनेकन् पर्यावरणीय, पर्यटकीय र जैविक सम्भावनाको संयक दृष्टिकोण छ छालबाटोमा। नेपालको नदी सभ्यता र नदीको अतिशय दोहनमुखी चरित्रलाई पुस्तकले पुनः परिभाषाको माग गरेको छ। लेखकले वर्णन गरेका कतिपय आञ्चलिक भाषा र सामाजिक व्यवहारउपर त्यही भेगका केही अध्येताले केही टिप्पणी उठाएका छन्। ती सामान्य कमजोरीलाई अर्को संस्करणमा सच्चाइने अपेक्षा राखौँ।

साहित्यिक र सिर्जनात्मक गुणवेत्ताभन्दा अझ एक तहमाथि उठी ‘पर्यावरणीय जीवनचक्र’उपर मान्छेले गरेको नजरअन्दाजको एउटा समाजशास्त्रीय ‘शोधपत्र’ पनि हो पुस्तक। यो यात्रा संस्मरणलाई पठनीय र संग्रहणीय किताब भन्न मिल्छ। फाइन प्रिन्टबाट प्रकाशित यो पुस्तक पनि मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार दुवैतर्फ श्रेष्ठ सूचीमा समावेश छ।

३. भिक्षु, व्यापार र विद्रोह-सुधीर शर्मा
सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ गैरआख्यान हो। व्यावसायिक पत्रकारिताका दौरान एउटा व्यक्तिले देश र भू-राजनीतिमाथि कति मिहिन तरिकाबाट सन्दर्भ, सूचना, स्रोत र दस्ताबेज एकत्रित गरी आफ्नो कामलाई परिष्कृत रूपमा पस्किन सक्छ भन्ने कुराको उदाहरण बनेका छन्, लेखक। लेखकले पुस्तकलाई प्राज्ञिक अनुशासनभित्र नबाँधिईकन लेखेको भने पनि चुस्त पत्रकारले पत्रकारितासँगै प्राज्ञिक कर्म पनि उत्तिकै कुशल ढंगले निभाउन सक्छ भन्ने दृष्टान्त हो पुस्तक।

किताबले नेपाल (काठमाडौँ)लाई सेतु मानेर दक्षिणतिरको ‘पिँध’ हिन्दू तीर्थ बनारसदेखि उत्तरतर्फको ‘छानो’ बौद्धथलो ल्हासासम्म जोडिएको सांस्कृतिक र धार्मिक ‘ट्रेल’को विषय समेटेको छ। हिमाल पारिको छिमेकीसँग पारस्परिक सम्बन्धको जग बसाल्ने श्रेय प्राप्त सातौँ शताब्दीका भृकुटी र नरेन्द्रदेवको युग चेत हुँदै आजका दिनमा विश्व व्यापारमा अग्रणी र विश्व अर्थतन्त्रमा ‘नम्बर एक’ बन्ने महत्त्वाकांक्षा बोकेको छिमेकी चीनको वैश्विक दृष्टि बुझ्न सकिने सन्दर्भ र सामग्रीले किताबलाई अझै बृहत् बनाएको छ।null

पाँचौँ शताब्दीताका नै चिनियाँ भिक्षु फा सियान र नेपाली भिक्षु बुद्धभद्रले एक अर्काको देशमा भ्रमण गरेको घटनाक्रमलाई चीनका शक्तिशाली राष्ट्रपति सी चिनफिङले पुनः स्मरण गर्दै चीन–नेपाल सम्बन्धका आयामउपर टिप्पणी गर्नुको तात्पर्य चीनसँगको सुरुवाती सम्पर्कको जग राजनीतिक नभई धार्मिक-सांस्कृतिक क्षेत्र रहेछ भन्नेलगायत अनेकन् ऐतिहासिक तथ्यको उत्खनन किताबमा भेटिन्छ।

‘फा सियान’ र ‘बुद्धभद्र’ अनि ‘भृकुटी- नरेन्द्रदेव’ कालखण्ड हुँदै एक्काइसौँ शताब्दीसम्मको नेपाल चीन सम्बन्धको समय रेखालाई संश्लेषणात्मक शैलीमा दस्ताबेजीकरण गर्न सफल छ किताब। नेपालले आजको ‘गतिशील चीन’सँग कूटनीतिक लय मिलाउन जरुरी भइसकेको सन्दर्भमा हाम्रा राजनीतिक र कूटनीतिक वृत्तका यो किताब गतिलो सन्दर्भ सामाग्री बन्न सक्छ। तीन सय त्रिहत्तर पृष्ठको पुस्तकभित्र कुल साठी पृष्ठ सन्दर्भ–सामग्री र इन्डनोट्सको फेहरिस्त नै छ। किताबको रचना गर्भसँग जोडिएका यस्ता तमाम सामग्रीका साक्षी बनेका लेखक शर्मालाई आउँदा दिनमा इतिहासविद् भन्न पर्ने हुनसक्छ। पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो।

४. हिउँको गीत-तीर्थ गुरुङ
पाठशाला (उपन्यास) र आपा क्हार्प (कथासंग्रह)मार्फत सिर्जनात्मक परिचय बनाइसकेका तीर्थ गुरुङले दोस्रो उपन्यासका रूपमा ‘हिउँको गीत’ लोकार्पण गर्दैगर्दा मोफसलका शक्तिशाली लेखकको परिचय बटुलेका छन्। गुरुङ जातिको मूल थलो क्व्होला राज्यको विकास, विस्तार र वैभवदेखि वियोग र विनाशसम्मको पटाक्षेप उपन्यासले बोकेको छ। उपन्यासमा गुरुङ करिब सात सय वर्षयता हिउँको चौपारीमूनि सुरक्षित निदाएको गुरुङ (तमु) सभ्यता र गुरुङ वंशवृक्षमा अल्झिएका अनेकन् नागबेली लहराको नालीबेलीको उल्था गर्छन्।

त्यसका लागि गुरुङले लागो उत्रिएका धामीले झैँ लामो लामो श्वासमा गुरुङ सभ्यताको चरित्र फलाकेका छन्। अझ भनौँ, ‘क्व्होला’को वियोगान्त महाकाव्यमार्फत आफू स्वयं र गुरुङ सभ्यताको विरेचन गरेका छन्।

मृग, थारल, हिमाली पाहा (भ्यागुता), कालिज अनि भीरमाहुरी (मह)को यायावरी शिकारमा रमाएको समुदायको कुनै गाउँमा एउटा बन्दुकको प्रवेश हुन्छ। मध्यमस्तरको सामाजिक प्रतिष्ठा भएको शिकारी ‘साँला पस्को’ले जब कसैले नसुनेको/नदेखेको चिज (बन्दुक) किनेर ल्याउँछ, त्यो चिजले पस्कोको प्रतिष्ठामा ल्याएको परिवर्तन र समुदायमा परेको मनोवैज्ञानिक असरलाई उपन्यासको केन्द्रीय भाव भन्न मिल्छ।

घाइते गोरुलाई दागा धरेर परीक्षण गरिएको त्यो बन्दुकले तमु सभ्यता र सामाजिक प्रतिष्ठा-मापनमा खेलेको भूमिका र निम्त्याएको वियोगान्त उपन्यासको शक्तिशाली पक्ष हो। यद्यपि, उपन्यासको ‘लङफर्म’ डिटेलिङ, पात्र नामकरणमा लेखकले छनोट गरेका हुबहु रैथाने चरित्रका कारण सरल पठनमा अभ्यस्त पाठकका लागि ‘हिउँको गीत’ पठन पूरा नहुँदै पारपाचुके हुने जोखिम देखिन्छ।

लेखक, समीक्षक झलक सुवेदीले ‘हिउँको गीत’बारे टिप्पणी गरेका छन्, ‘यो क्व्होलाको कथा हो। निश्चय नै सिक्लेसको सामाजिक छाप यसमा जबरजस्त छ। तर इतिहास, पुर्खा र आदिम तमु समाजको मूल्य प्रणालीका सम्बन्धमा यो नेपालको सबै तमु समाजको एउटा ऐतिहासिक अभिलेख हो, सबै गुरुङहरूको साझा उत्पत्ति कथा र मिथकहरूको सँगालो हो।’

यो निचोडसँग विमति राख्नु पर्ने ठाउँ छैन। लेखकले उपन्यासमा तमु समुदायको इतिहास र मिथकलाई जसरी ‘क्लोन’ गरेका छन्, त्यही हिसाबले पात्रहरूको पनि विनिर्माण गरेर हामीले सुनेका/भोगेका नामहरूमा रूपान्तरण गरेको भए उपन्यास अझ सरस हुने थियो। माथि (हिउँ) बाट तल (बेँसी)तिर गोठको बसाइँसराइ गर्नु पर्दा ‘भाषा संस्कार, चालचलन नमिल्ने मान्छेहरूसित भेट होला कि? हुने नहुने रोग सर्ला कि?, हाम्रो रगत बिग्रेला कि?’ भन्ने संशय पनि उपन्यासको अंश बनेको छ। यो मनोवैज्ञानिक चिन्तालाई आफ्नो थातथलोप्रति तमु समुदायको जैविक/भावनात्मक आशक्ति मान्न सकिन्छ।

मिथक, इतिहास र कल्पनाको सम्मिश्रण हो पुस्तक। अलि छरितो वाक्यगठन र पात्रको सरलीकरण गरेको भए आख्यानको काल्पनिक पक्ष अझ विश्वसनीय हुने थियो। यो पुस्तक पनि मदन पुरस्कार र पद्मश्री दुवै पुरस्कारको श्रेष्ठ सूचीमा अट्न सफल छ। उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

५.बहुरूपी-श्रेयज सुवेदी
केही वर्षअघि ‘बुहारी उहारी’ शीर्षकको एउटै मात्र अखबारी आलेखबाट नै श्रेयज सुवेदीको राम्रै चर्चा भएको थियो। त्यस यताका केही वर्षसम्म पनि श्रेयजको लेखकीय प्रोफाइल ‘विभिन्न पत्रिकामा एक दर्जन लेख-रचना प्रकाशित’मै सीमित थियो। श्रेयजले जब १५ वटा बहुरूपी कथा समेटिएको पुस्तक ‘बहुरूपी’ पाठकलाई सुम्पिए, तब उनी ‘अरूले सुन्ने गरी बोल्न डराउने’बाट प्रस्ट सुनिने र पढिनै पर्नेमा पदोन्नति भएका छन्। अवसर, सामाजिक न्याय, विकास र अपनत्वको कुरा गर्दा ‘देशको सीमा पो सीमासम्म छ, राज्यको सीमाले त थानकोटसम्म पनि काट्न सकेको छैन’ भन्ने महसुस गरेरै हुनुपर्छ, ‘बहुरूपी’का निकै कम कथा मात्र शहर छिरेका छन् र ती कथा/पात्र शहरमा अट्न, अडिन सकेका छैनन्।

कथा प्राय: भुईं मान्छेका हुनाका कारण पात्रहरू देहातमै बाँच्न रुचाएका छन्। तराई/मधेश खेतीपातीका लागि त उर्वर छ नै, सामाजिक–सांस्कृतिक रहनसहन, उठबस, अन्तरघुलन र दु:खपीरका अनेक सुस्केराका लागि पनि उत्तिकै छ। र पनि, साहित्य/सिनेमामा मधेशको आञ्चलिक स्वाद उत्खनन गर्दै कथा खोज्ने, लेख्ने र साझा गर्ने सर्जक निकै थोरै छन्। तराइ मधेसको भाव भूमिलाई न्याय गर्न सक्ने थोरै लेखकको सूचीमा अब श्रेय थपिएभन्दा अन्यथा हुन्न। बहुरूपीभित्र मथुली, राबडी, जुगाड र बउवा वेग में बा पढ्नुहोस्, निकै सूक्ष्म तरिकाले लेखिएका सामान्य पात्रका दैनन्दिन कथा (खासमा कष्ट) भेटिन्छन्।

पात्रमार्फत गाली, आक्रोश, विद्रोह र अतिशय राजनीतिक नाराजस्ता सुनिने जार्गन मिश्रित संवाद नराखीकनै अभाव, उत्पीडन, दलन र संवेदनाउपर श्रेयजले सरल कथा बुनेका छन्। सायद यस्तै हुन्छन् सामाजिक यथार्थवादी कथा। छरितो भाषा शैली र छोटा वाक्यमार्फत कथा लेख्ने श्रेयज शैलीले पाठकीय पकड मजबुत बनाएको छ। कथ्य शैलीका हिसाबले बहुरूपी, प्रश्न-पत्र र मृत्युको ऐयामा गजब मनोवैज्ञानिक प्रयोग छ।

संग्रहमा राजनीतिक कथा थोरै छन्। कुनै पक्षलाई 'नुनचुक' नदलीकनै ‘मौतका-कुवा’ कथाले देशको द्वन्द्वकाल बोलेको छ। सो कथाको सुवासले फोटो प्रतियोगितामा जितेको एक लाख सत्तरी हजारको पुरस्कार चेक थाप्दै गर्दा अतिथिको हातबाट बग्दै आएको रगतले एउटा शून्य मेटाएर जम्मा ‘सत्र हजार’ झारिदिन्छ। असुरा र बैराठपुर कथाका पात्रले पूरा गरेको बदला वास्तविक लाग्छ।

एक्ली राउडीले एकै रातमा काठमाडौँको कुनचाहिँ चिहानघारीमा पुजारीलाई कुशबाडीया चलनअनुसार दफ्नाइन् होला? कथालाई कारुणिक बनाउने नाउमा वर्णित यस्ता केही दृश्य कतैकतै अलि बिझाउँछन्। ‘मरिजाने सन्तानका बाँचिरहेका आमाहरूको विरह नसुन्ने देउताले कुन भजन सुन्छ होला?’ भनी देवतासँग सन्देह गर्ने ‘बहुरूपी’ समग्रमा सुन्दर छ। बुकहिल पब्लिकेसनले छापेको यो पुस्तक पद्मश्री साहित्य पुरस्कारको विस्तारित (पहिलो १५) सूचीमा समावेश थियो।

६. दर्ज्यु संलाप-कुमारी लामा
नेपाली पाठकमाझ कुमारी लामाको चिनारी पढैयाको छ। अंग्रेजीकी प्राध्यापक लामाको लेखकीय परिचय अन्य परिचयको दाँजोमा प्रखर छ।

कथा, उपन्यास र कवितासँग तुलना गर्दा निबन्ध विधा सिर्जनात्मक अतिक्रमणमा परेको छ, अलि रुक्खा-सुख्खा बन्दै छ। निबन्धको आत्मपरक र वैचारिक धार कमजोर हुँदै गएको अवस्थामा समालोचनात्मक चेष्टासमेत उत्तिकै तिखो भएकी लामा निबन्ध (उज्यालो अन्धकार -२०७१) देखि निबन्ध (दर्ज्यु संलाप- २०८१) सम्म आइरहनु सुखद पक्ष हो। पठनमा सचेत मान्छे लेखनमा पनि स्वतः गम्भीर हुन्छन् भन्ने सिर्जनात्मक मान्यता छ। यस्तो मान्यता उनमा लागू नहुने कुरै भएन। ‘दर्ज्यु संलाप’मा लेखक भाव र शिल्पी पक्षमा भन्दा समता, आलोचनात्मक चेत र मुद्दामा केन्द्रित छन्। प्रतिरोधी स्वरको सारथि बन्ने अभिलाषा उनमा छ। प्रतिरोधी स्वर निकाल्न र निभ्न नदिन समाजको जरो बुझेको हुनुपर्छ।

निबन्धमा समेटिएका ‘समाज संवार्ता’ नियाल्दा लाग्छ, सर्वहारा र छेउकुनाका मान्छेको आवाज लेख्ने मान्छे हुन् लेखक। गाडीको लस्कर र प्रविधिले मिच्दै र मेटाउँदै लगेको रैथाने ज्ञान-स्रोतप्रति लेखकको गहिरो चासो छ। गाउँघरका किसान, आदिवासी, शिल्पी र मजदुरहरू नै हुन्, जसलाई हामी रैथाने ज्ञानका स्रोत र मालिक भन्न सक्छौँ। दुःख गर्दागर्दै पनि चेत खुलाउन र ‘कर्मको फल’ पाउनबाट छलिएका तिनै ‘कर्मी मान्छे’को भावलाई लामाले निबन्धमार्फत उल्था गरिदिएकी छन्।

यौन बजार  धानिदिन, बस्तुसरह बेचिएका ‘छोरी’ जातको  अभिसप्त ‘योनी’को आत्मपुकार समेटिएको ‘मांसहाटको आदिम भोक’ निबन्ध कुनै दुरूह आख्यानभन्दा कम छैन।

पुस्तकका सत्र निबन्धमध्ये अधिकांशमा कुमारीको स्वजात (तामाङ) समुदायका विषय/प्रसंग केन्द्रमा छन्, र समष्टिमा सबैले महसुस गरेका साझा सवाल हुन् ती। स्वयं कुमारीले नपत्याउने गरी सत्र वटै निबन्धमा विषय, लेखकीय वजन, निजत्व र आत्मपरक अनुष्ठानबराबर शक्तिशाली छ भन्दै फुर्क्याउन जरुरी छैन। केही निबन्ध बिसको उन्नाइस छन्। ‘देशको खतरापूर्ण इतिहास अन्यायी र अविवेकी शासकहरूको कुरूप सिर्जना हो!’ ‘प्लेन वा गाडी-घोडा चढेर आयो होला नयाँ धर्म?’ यस्तै यस्तै आक्रोश र प्रश्नसहित कुमारीले निबन्ध विधाको टाकुरामा टाढैबाट चिनिने दर्ज्यु (झन्डा) गाडेकी छन्। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

७.पञ्चतत्वको पालाम-मनप्रसाद सुब्बा
एक नमिठो सपनाजस्तै, अनेक कारणले पृथ्वीको ज्वरो दिनानुदिन बढ्दै गएको छ। सन्निकट कुनै दिन, आइसबर्गको बुई चढेर आएको समुद्री आँधीका कारण पृथ्वीका अधिकांश स्थान टाइटानिक जहाजझैँ डुब्ने अवस्था आयो भने के होला? 

पञ्चतत्त्वको पालामभित्रको कुनै कवितांशको भाव हो यो।

पञ्चतत्त्वको पालामभित्रका कविता पढ्दै गर्दा लाग्छ, दोहोरिन सक्छन् यस्ता दुःस्वप्न। शरीरमा आउने ज्वरो आफै रोग होइन। ज्वरो आउनुले शरीरमा केही विकार या समस्या छ भन्ने बुझिन्छ। अचेल धरती ज्यादा तात्न थाल्यो भन्ने हामी सुनिरहेकै छौँ। त्यसबाट जगत् माता धर्ती बिरामी छन् भन्ने बुझिन्छ।

कवि मनप्रसाद सुब्बाले आफ्नो काव्यिक अनुष्ठानमार्फत पृथ्वीको तापसहित ‘पञ्चमहाभूत’ (पञ्चतत्त्व) छाम्ने काम गरेका छन्। पृथ्वी (धरती), जल, तेज (अग्नि), वायु अनि आकाशलाई मनप्रसाद सुब्बाले आफ्नो कवि मन र मानव मस्तिष्क एकै ठाउँ डल्लो पारेर मथेका छन्। तर्सिरहेको धरतीको अन्तर वेदना सुनिने र महसुस हुने गरी उनले यसरी ‘पालाम’ फलाकेका छन्:

सबम्यारिनको पेरिस्कोपले झैँ चिहाएर
निस्पट्ट अन्धकारमा आइसबर्गले 

यो उन्मत्त संसारको टाइटानिकलाई
कहिलेदेखि ढुकेर बसेको छ …
(उत्तर ध्रुव यतिखेर )

तर अचेल सुनिन्छ चारैतिर कि वायुदेव निकै बिसञ्चो छ, 
अनि उसलाई चाहिएको अक्सिजन सिलिन्डर 

अस्पतालबाहिर कालो बजारमा बिक्री हुँदैछ। (वायुकणदेखि वायुदेवसम्म)

अबको साहित्य लेखनले आफ्नो विश्व दृष्टि सच्याएर पर्यावरण र प्रकृतितर्फ फर्किनु पर्छ भन्ने वैचारिक बहसलाई कविले पछ्याएका छन्। मुन्धुम र महाभारतको टेको लगाएर होस् वा मान्छेको कर्म-कुकर्मलाई विनिर्माण गर्दै, पाँच तत्त्वलाई त्रिपन्न टुक्रा कवितामा कवि ‘भित्री ब्रह्म’ बोलेका छन्। यसअघि दस थान कविता संग्रह लेखिसकेका सुब्बाले ‘मिसाम’ कथासंग्रहको मिसाम कथामा ‘आगोको हंस’लाई मनाउने कोशिश थियो।

कविले मिसामबाटै ‘पञ्चतत्त्वको पालाम’ गाउने पूर्वसंकेत गरेका रहेछन्। विषय छनोटको सीमाका कारण पञ्चतत्त्वमा मात्र केन्द्रित भई पालाम गाउनुपर्ने भएकाले हुनसक्छ, कवितामा विम्ब र भावको पुनरावृत्ति भएको छ। यसलाई संग्रहको कमजोर पक्ष भन्न मिल्छ। पेज टर्नरले प्रकाशन गरेको हो कविता संग्रह।