यो सबै जालझेल जन्माउने एक शासक थिए, भैरवप्रसाद आचार्य। कालोकुत्ताले मालपोत नतिरेको किर्ते बात बढाएर मालअड्डाका सुब्बा आचार्यले त्यो जग्गा–जमिन हत्याए र कौडीको मोलमा शमशेर गिरीलाई बेचिदिए।
काठमाडौँ– संवत् २००० सालतिर झापामा धनीमानी मानिस थिए, कालोकुत्ता मियाँ।
यो कथाको प्लट यहीँबाट शुरू हुन्छ जहाँ मियाँ, सतार र राजवंशीहरूको यत्रतत्र नाम थियो, काम देखिन्थ्यो। अलिक पर्तिर बुट्टाबारी, बिर्तामोड क्षेत्रमा थिए, मथुरा सतार, छोटु सतार, धर्मे सतार जो जनही १०० बिघाभन्दा बढी जमिनका मालिक थिए। अझ पर्तिर सीमावर्ती गाउँ हल्दिबारीमा सतार मूलकै प्रधानपञ्च थिए, कुपितनारायण किस्कु (२८ बिघे)।
शरणामतितिर थिए अर्का ४० बिघाका जमिनदार, तुर्सा हेमरम। अनारमनीमा थिए, साधारण घरका किसान गंगाप्रसाद राजवंशी। झापा, कुमरखोदमा दलसिंह राजवंशी थिए जसको सात बिघा जमिन २० हजार रुपैयाँमा धितो–बन्धक राखेर ‘पच पारिएको’ कथा अझै चल्तीमा छ। चारपानेका जमिनदार छलछलिया राजवंशीको जग्गाजमिन, घर सारा लिलाम भयो– मालपोतका कारणले। सोझा र इमानदार छलछलियाले मालपोत जम्मा गर्न नसकेपछि उनको सर्वस्व सम्पत्ति लिलाम भएको थियो।
झापामा ‘किर्ते र काइते’हरूको कथा अनन्त छ, वंशावलीजत्तिकै लामो छ। निकै ख्यातिमा जोडिएको झापाली पहिचानको नाम बनेको गिरीबन्धु चिया बगानको आगत–विगतमा यी मियाँ, सतार, राजवंशी प्रत्यक्ष गाँसिएको छ। झन्डै आधा शताब्दी अघिको यो वृत्तान्त यति छिट्टै कुनै प्रागैतिहासिक कथाझैँ बनिहाल्छ भन्ने थिएन, तर कथा बनिसकेको छ।
यो पनि: म गिरीबन्धुको जग्गातिर जान हुने थिएन : दीपक मलहोत्रा
झापाको बिर्ता बजार क्षेत्रमा बसोबास गर्ने त्यो कालखण्डका भुक्तभोगी गोपालकुमार बस्नेतको ‘आफ्नै सेरोफेरोभित्र’ पुस्तकले त्यो समयको सत्याटनालाई बाहिर ल्याएको दुई दशक बितिसकेको छ। तर, सबै घटनाझैँ यही पुस्तक पनि ‘गुपचुप’ राख्नैपर्ने अभिलेख बन्यो, अर्को दलनको इतिवृतान्त जस्तै।
“मैले यो पुस्तकमा ‘आँख देखी हाल’ लेखेको थिएँ, आज ती राजवंशी, सतार, मियाँका सन्तति कहाँ होलान्? देशभित्रै पलायन भए वा भारततिर गएर लुकिबसेका छन्? म यसको खोजी गर्न थालेको छु,” उमेरमा ८० वर्ष नाघेका लेखक बस्नेतसँगको दुर्लभ भेटमा उनी भन्दै थिए, “अब जे त पर्ला भनेर यो पुस्तकलाई फेरि अर्को संस्करणमा ल्याएर इतिहासको स्मरण गर्न/गराउन चाहेको छु।”
गिरीबन्धु टी–इस्टेटका नाममा बिर्तामोड क्षेत्रमा रहेको चियाबगान झन्डै ६० वर्षअघि शुरू भएको थियो जुनबेला ‘नेपालमा बसोबास खुलेको खबर’ फैलिएको थियो। पुस्तकका लेखक एवं झापा जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद बस्नेतको दाबीयुक्त लेखाइ छ, “नेपालमा बसोबास खुलेको खबर पाउनासाथ आफ्नो आर्थिक अवस्था सुधारेका केही मानिस आफ्नो झिटीझाम्टी बेलैमा पोल्टामा हाली नेपालमा फर्के। शमशेर गिरी त आसामबाट आफ्नो भैँसीगोठ लिएर छोराहरूका साथ झापाको घैलाडुबा, बाघेडाँडीमा बसोबास शुरू गरेका हुन्।”
शमशेर गिरीका खलकमा उनका छोराहरू (टेकबहादुर, पदमबहादुर, भगवान् र छत्र)ले नियमानुसार हदबन्दी नरहेकै जनही २५ बिघाका दरले आफ्नो जग्गा लिइसकेकाले र यो सम्पत्ति अहिलेको गिरीबन्धु चियाबगान (३४४ बिघा) बाहिर रहेकाले पनि गिरीबन्धु जमिन सरकारकै हुनुपर्नेमा लेखक बस्नेतको दाबी छ। यीमध्ये टेकबहादुरका छोरा सुदर्शन गिरीले २०६० सालमै आफ्नो अंश (भागबन्डा) भनेर गिरीबन्धुकै ५१ बिघा जमिन लिएर बिर्तामोड बसपार्क क्षेत्रमा अलग्गै बसोबास थालिसकेका छन्।

लेखक बस्नेतका बुझाइमा, झापामा पनि दुई थरी मानिस छन्– यौटा सधैँ ठग्छ र, ठगिरहन्छ। अर्को, ठगीको जालोमा मात्रै परिरहन्छ। झापामा धेरै ‘किर्ते–काइते’हरूको कथा अलिखित छ। धेरैको कथा अवर्णित छ। धेरैको कथा छोपिएकै छ। त्यसमा पनि झापाका धर्तीपुत्र भनिएका आदिवासी, राजवंशी, सतारहरूको इतिहास के–कसरी मेटियो र कसरी यो जातलाई कहिल्यै उठ्नै नसक्ने गरी दबाइयो भन्ने घटनामा साक्षी–सदर पात्र बनेका लेखक बस्नेत त्यो समयको कथा–व्यथा उत्खननमा लागेका थिए, लागेकै छन्। त्यो भूमीमा भैँसीगोठ लिएर छिरेका गिरीहरू बाहेक अधिकारी, बास्तोला र अग्रवाल (मारवाडी समुदाय)ले गरेको जगजगी पनि उनले देखेका छन्, लेखेका छन्।
फेरि लागौँ– गिरीबन्धु चियाबगानतिरै, जहाँको माटोमा अझै कालोकुत्ता मियाँको इतिहास गढेर बसेको छ। झापा (अनारमुनि–बुट्टाबारी क्षेत्र)मा सबैभन्दा राम्रो प्लट मिलेको, सिँचाइ सुविधा भएको साढे ५०० बिघा जमिनको कालोकुत्ताको थियो। डेढ सय घर परिवार त उनका सँधियार थिए। मालअड्डामा गएर नियमित मालपोत तिर्ने र अरू जिमदारलाई पनि त्यस्तै नियम–कानूनको पाठ सिकाउने कालोकुत्ताको यो अनुशासन धेरै चल्न सकेन, टिक्न सकेन। दिनहुँ डाँका लागिरहने झापाको दक्षिणी बेल्ट (भारत सिमावर्ती)मा हुने अनेक डकैतीका घटनामा कालोकुत्ताको संलग्नता रहेको भन्दै झोसपोल र अपराधी बनाउन खोजिएको ताकेताले कालोकुत्ता क्रमशः गल्दै गए। उनलाई पक्राउ गरेर जेल हालियो। चर्को शारीरिक र मानसिक यातनाका कारण उनी जेलभित्रै मरे।
झापामा यो सबै जालझेल जन्माउने एक शासक थिए, भैरवप्रसाद आचार्य। कालोकुत्ताले मालपोत नतिरेको किर्ते बात बढाएर मालअड्डाका सुब्बा आचार्यले त्यो जग्गा–जमिन हत्याए र कौडीको मोलमा शमशेर गिरीलाई बेचिदिए। लेखक बस्नेतका अनुसार, उनै कालोकुत्ताका छोरा हमिद मियाँ (नानु) बिर्तामोड–बुट्टाबारी राजमार्गमा २०६० सालसम्म फिरन्ताझैँ हिँडिरहेका भेटिन्थे। पछि त्यो मियाँका सन्तान–दरसन्तान के भए, कता विलीन भए– कसैले पत्तो पाएन।
गिरीबन्धुको आज भएको चियाकमानमा मथुरा सतार र छोटु सतारको पनि आत्मा बसिरहेको छ। यो मौजाको जिमदार धर्मे सतार थिए। कालोकुत्ता मियाँको हरिहालत बाहिर आउनासाथै फेरि उसैगरी ‘मथुरा, छोटु र धर्मे सतारलाई पनि डाँका मुद्दा लागेको छ भन्दै पोल्ने (बात लगाउने)’ काम गरियो अनि, उनीहरू पनि रातारात आफ्नो थातथलो छाडेर बेपत्ता भए। जमिनका मालिक यी सतारहरू बेपत्ता भएपछि फेरि मालअड्डाका सुब्बा आचार्यले बाघेडाँडीबाट शमशेर गिरी, टेकबहादुर गिरीहरूलाई बोलाएर यो सतार जायजेथा पनि बिक्री गरे। धर्मे सतारको जिमदारी अधिकार बुझ्न टेकबहादुर गिरी अघि सरे जहाँ आजको गिरीबन्धु चियाबगान छ।
लेखक बस्नेतका अनुसार, २०४० सालपछि हल्दिबारी गाउँ पञ्चायतका प्रधानपञ्च कुपितनारायण किस्कु (सतार)को पनि हालत यही भयो। गाउँमा २८ बिघा जमिन भएका निकै चल्तापुर्जा समाजसेवी थिए कुपित। एकपटक प्रधानपञ्चसमक्ष कुनै किसान (उपल्लो जातीय)को बाली सुँगुरले विनाश गरिदिएको उजुरी आएको थियो। तर, त्यो उजुरीमा कारबाही नभएको भन्दै प्रधानपञ्च कुपितमाथि अदालतमै उजुरी पर्यो। त्यसपछि त्यही मुद्दा मिलाउन र घरसार व्यवस्था (पीडितलाई नयाँ घरजग्गा प्रबन्ध) गर्न कुपितले आफ्नो धेरैजसो जमिन बेच्नुपर्यो। पछि त्यो बदनामीले उनको उठिबासै लाग्यो हल्दिबारीबाट। अहिले यो क्षेत्रमा पनि चियाबगान छ।
यो पनि: गिरीबन्धु टी–इस्टेट राज्यको सम्पत्ति होइन : सञ्चालक छत्रबहादुर गिरी
शिवगन्ज र शरणामतीमा ४० बिघा जमिन हुने कांग्रेस कार्यकर्ता तुर्सा हेमरमको पनि त्यही हविगत भयो। २०२१ सालको नापी आउनुअघि नै राज्यका नजरमा ‘अराष्ट्रिय तत्त्व’ तुर्सा सपरिवार भारत गएका थिए। स्वभवत: राजनीतिक कार्यकर्ता र लुकिछिपी जीवन बिताउने अवस्थामा तुर्सासँग आफ्नो जग्गाको जिमदारी स्रेस्ता केही थिएन। २०२१ सालको नापीमा पनि उनको जग्गा दर्ता हुनै सकेन, कसैले यसबारे चासो पनि राखेन। “तत्कालीन कानूनले राजनीतिक आन्दोलनमा लागेको मानिसलाई अराष्ट्रिय तत्त्व घोषणा गरेर निजको सम्पत्ति नै जफत गरिने कानूनी व्यवस्था भएकाले जिमदार देवीप्रसाद उप्रेतीले सबै जग्गा आफ्नो र आफन्तका नाममा नापी गराई दर्ता गराएका थिए,” बस्नेतले पुस्तकमा लेखेका छन्।

झापा, अनारमनीका अर्का किसान गंगाप्रसाद राजवंशीका बारेमा पनि लेखक बस्नेतले सोधखोज गरेका छन्, पुस्तक ‘आफ्नै सेरोफेरोभित्र’। अहिलेको बिर्ताबजार, अनारमनी पश्चिम तेलकानीमा पाइक परेको जमिन रहेका राजवंशीको जायजेथा कसरी किर्तेहरूले खाइदिए भनेर लेखकले रमाइलो शैलीमा बयान गरेका छन्।
“तेह्रथुम, आठराईबाट झरेका एकजना छट्टु भट्टराई (गंगाप्रसाद)ले आफ्नो नाम मिलेका आधारमा मित लगाएर राजवंशीको सम्पत्ति खाइदिए। ठग छट्टुले एउटा वारिसनामा बनायो र, वारिसनामामा विश्वास गरी सही गर्न लगायो। सही गरिदिएपछि ताप्लेजुङ जिल्लामा गएर रुपैयाँ लिएर जग्गा पास नगरी दिएको अभियोग खडा गरी अदालतमा उजुरी गर्यो,” बस्नेतले लेखेका छन्, “कैयौँ दिन हिँडेर पुग्नुपर्ने अनकन्टार पहाडमा गएर बिचरा राजवंशीले प्रतिवाद गर्नै सकेनन्। अदालतले राजवंशीलाई एकतर्फी मुद्दा ठहर गरी हराइदियो। यिनै छट्टुले मोरङ कलेजका एकजना प्रोफेसर युवराज बन्जारालाई पनि जग्गा दिन्छु, म यस्तो कुकर्म कहिल्यै गर्दिन भन्दै दुई बिघा जमिनको मोलबापत जग्गाको पैसा लिएपछि पच गराएका थिए। यिनै भट्टराईले सिलिगुढीका रतन खड्का, बिराटपोखरका तारानाथ प्रसाईंलाई पनि ठगेका थिए। सारा पहाडे मूलका अभिसापको प्रतीक र कलंकका रूपमा निज छट्टु भट्टराईलाई हेर्ने गरिन्छ।”
चन्द्रगढीकै एकजना कोइराला र एकजना राजवंशीले कुमरखोद (झापा)का दलसिंह राजवंशीको सात बिघा जमिन २० हजार धितो बन्धकको नाममा राजीनामा पास गराएर ‘पच’ गराइदिएको घटना पनि लेखक बस्नेतले स्मरण गरेका छन्। बस्नेत भन्छन्, “वास्तवमा झापामा जबदेखि बसोबास बढ्न थाल्यो, सम्पत्ति कमाउने प्रबल चाहनाले मानिसलाई निर्लज्ज पनि बनाएको छ। ऊ झापा आयो— मान, सम्मान, इज्जत, प्रतिष्ठा कमाउन होइन, खाली सम्पत्ति कमाउन आयो, धन–सम्पत्ति जोड्न आयो, फगत सुख–सुविधा लिन आयो। स्थानीय बासिन्दाबाट लिन, खोस्न आयो।”
झापामा रहेका अरू ‘किर्ते–काइते’को पनि बस्नेतले सम्झना गरेका छन्, आफ्नै सेरोफेरोमा। “झापादेखि बाहिर गएर पनि हाम्रा किर्ते–काइतेहरूले झापाको नाम ‘उँचो’ राखेका छन्। भद्रपुरका एक व्यापारी, जसको नाम नै राजकुमार भद्रपुरिया हो, बैंकसँग नक्कली एलसीकाण्ड मच्चाए, करोडौँ रुपैयाँको विदेशी मुद्रा अपचलन गराए र, आफू बेपत्ता भए,” बस्नेतले लेखेका छन्, “झापाका दुई गिरी– मधुसन गिरी र मण्टु गिरीले काठमाडौँको बैंकबाट करोडपति व्यापारी र अनेकन् कम्पनीको बैंकबाट पटक–पटक करोडौँ रुपैयाँभन्दा बढी किर्ते हस्ताक्षर गरेर रकम हात पार्न सफल भए। लामो अनुसन्धानपश्चात् पकडा परे, जेल परे, तर जेलबाट पनि नक्कली हस्ताक्षर र चेकबुक प्राप्त गरी एक अन्तर्राष्ट्रिय कम्पनीबाट करोड रुपैयाँ झिकेर विश्व कीर्तिमान राखे।”
गिरीबन्धु चिया बगानको जगमा बसेको राजवंशी, सतार र मियाँहरूको इतिहास उधिने पनि लेखक तथा सांसद बस्नेतले गिरीहरूको विरोध गर्न चाहेका छैनन्। बरु त्यस बेलाका मालअड्डाका हाकिम भैरवप्रसाद आचार्य र भूपालमानसिंह कार्कीको खराब नियत उत्खनन गर्न चाहेका छन्। त्यसबेला भैँसीगोठ लिएर भारत, आसामबाट झापा आउने शमशेर गिरी, पदमबहादुर गिरीहरूको बस्नेतले प्रशंसा नै गरेका छन्। पदम गिरी जो आफै दुई हल (बिहान र बेलुका) हलो जोत्थे, तिनको प्रशंसामा भनेका छन्, “गिरीहरू जस्तो मिहिनेती हुनुपर्छ, त्यसबेला सबैले भन्थे।”
त्यसबेला औलोले जिउज्यान लैजाने झापामा पहाडी मूलबाट मान्छे ल्याएर बसोबास गराउने भूपालमान र भैरवप्रसादलाई पनि बस्नेतले केही ठाउँमा ‘धन्यवाद’ दिएका छन्। उनका अनुसार, अधिकारमा यिनीहरू सामन्ती थिए, तर व्यवहारमा झापामा आबादी बढाउने काम यिनै (बस्नेत/कार्की)ले गरेका थिए। “मैले गिरीबन्धुको विरोध गरेको होइन, जे यथार्थ हो त्यही लेखेको हुँ,” बस्नेत भन्छन्, “बरु अहिले आएर गिरीबन्धुले गति छाडेका हुन्। हदबन्दीभन्दा बढी छुट पाएका जग्गा जस्तो छ त्यस्तै रहन दिनुपर्छ, त्यहाँ बगान नै हुनुपर्छ। किन दिएको भन्दा हदभन्दा बढी जग्गामा उद्यम गर्न, खेती गर्न दिइएको हो। अब तोकिएको खेती गर्न नसकेपछि त्यो जमिन कि फर्केर सरकारमा जानुपर्छ, कि त्यहाँ जेजस्तो अवस्थामा छ त्यस्तै रहनुपर्छ।”
बस्नेतको बुझाइमा, भोकाएको मानिसको इमान हुँदैन। तर, अघाएको मानिसको पनि धर्म देखिएको छैन। सरकारले उसबेला उद्योग सञ्चालनमा दिएको (हदबन्दीमाथि) जमिन अहिले अनेक बहाना र प्रपञ्चमा टुक्रा गर्दै बिक्री–वितरण गर्न खोज्नु र जेजसरी पनि पैसा कमाउनुभित्रको चेष्टालाई उनी ‘धर्मछाडा संस्कार’ भन्न रुचाउँछन्।
“अहिले गिरीहरूले इतिहासमा जस्तो कुनै परिश्रम वा लगन देखाएर गिरीबन्धु चिया बगानमा उद्यम गरिरहेका छैनन्, खाली पैसो कमाउने दाउ मात्रै उनीहरूमा देखिएको छ। त्यसमा राजनीतिक रंग, प्रभाव र पहुँच पनि जोडिएको देखिन्छ,” बस्नेत भन्छन्, “कालोकुत्ता मियाँ र छोटु सतारहरूको आत्मा सम्झेर पनि यति साह्रै सम्पत्तिको मोहमा नलागिदिए हुन्थ्यो भन्ने लागेको हो। अरू केही नहोला, अन्तिममा जाने बेलामा हरि त रहन्छन्। गिरीबन्धुले तिनै हरिलाई सम्झना गरिदिउन्। आखिरमा जाने बेलामा कसले के लगेको छ र?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
