ट्रम्पको कर नीति र घट्दो रोजगारी दरले विश्व बजारमा नकारात्मक असर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा अपेक्षाभन्दा कम रोजगारी सिर्जना भएपछि विश्वका प्रमुख शेयर बजारमा यसको नकारात्मक असर देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा अपेक्षाभन्दा कम रोजगारी सिर्जना भएपछि विश्वका प्रमुख शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। यी दुई प्रमुख कारणले गर्दा शुक्रबार विश्वव्यापी बजारमा नकारात्मक असर देखिएको हो।

शुक्रबार अमेरिकी डाउ जोन्स सूचकांक १.२ प्रतिशतभन्दा बढीले घटेर कारोबार शुरू भएको थियो। त्यसैगरी, युरोपमा पनि यसको प्रभाव देखिएको छ, जहाँ पेरिस र फ्राङ्कफर्टका शेयर बजार २ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्। बजारमा देखिएको अनिश्चितताले अमेरिकी डलरको मूल्य पनि प्रमुख मुद्राको तुलनामा घटेको छ।

ह्त्द्य ट्रेडिङ समूहकी अनुसन्धान निर्देशक क्याथलीन ब्रुक्सका अनुसार, अब रोजगारीको तथ्यांकले बजारको ध्यान पुरै तानेको छ। ट्रम्पका भन्सार शुल्कभन्दा पनि यो समाचार प्रभावशाली भएको छ।

अमेरिकी श्रम विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, जुलाई महिनामा जम्मा ७३ हजार नयाँ रोजगारी मात्र सिर्जना भएको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा निकै कम हो। यसअघिका मे र जुन महिनाको रोजगार तथ्यांकलाई पनि घटाएर संशोधन गरिएको छ, जसले बजारमा थप दबाब सिर्जना गरेको छ।

ट्रम्प प्रशासनले ७० देशमाथि नयाँ कर लगाउने घोषणा गरेको छ, जसमा क्यानडामाथि ३५ प्रतिशत र स्विट्जरल्यान्डमाथि ३९ प्रतिशत शुल्क प्रस्ताव गरिएको छ। यसको विरोधमा स्विस सरकार अमेरिकासँग वार्ताको तयारीमा छ। यसैबीच, बेलायत, युरोपेली संघ, जापान र दक्षिण कोरियाजस्ता देशहरूले भने शुल्कबाट बच्न अमेरिकासँग सम्झौता गरिसकेका छन्।

ट्रम्पको चेतावनीपछि युरोपेली औषधि कम्पनीहरूको शेयर मूल्य पनि घटेको छ। उनले अमेरिकी बजारमा औषधिको मूल्य नघटाएमा कडा कदम चाल्ने चेतावनी दिएका थिए। यसैगरी, प्रविधि कम्पनीले राम्रो आर्थिक नतिजा देखाए पनि बजारमा व्याप्त अनिश्चितताका कारण ती सकारात्मक परिणाम ओझेलमा परेका छन्।