भोजपुरको पाँचधारे बजार पहिरोको जोखिममा

विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ।

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको डाँडामा जमिन चर्किएर बग्न थालेपछि बजार जोखिममा परेको हो।

पाँचधारे बजार पहिरोको जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङपाहाङले जानकारी दिए। बजारमाथिको डाँडामा ढुंगा उत्खनन गर्दा बस्तीलाई असर परेको उनको भनाइ छ।

“पाँचधारे बजार पहिराको जोखिममा परेको छ,” उनले भने, “ठूलो मनसुनी वर्षा भएको खण्डमा बस्ती पुर्ने जोखिम छ।” 

बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष माङपाहाङले बताए। विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।