कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा लगातार भएको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढेको छ। नदीको सतह बढेसँगै तटीय क्षेत्रमा जोखिमसमेत बढेको छ।

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो। 

आइतबार बिहान नदीको सतह उच्च विन्दुमा नदीको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। बिहानदेखि नदीको सतहदेखि ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाव भइरहेको बताए। यो वर्षको सबैभन्दा बढी मापन हो । 

नदीको बहाव बढेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन्।

 बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो मानिएको शालिग्राम शिलासमेत डुबानमा परेको छ। शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले जानकारी दिए। 

शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियनसमेत पानीले पुरिएका छन्। कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका भने खोलिएका छन्।पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झन्डै २०० व्यापारी तथा सर्वसाधारण जोखिममा परेका छन्।

१६ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए। २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताए।