निर्मला पन्त हत्या घटनाको अनुसन्धान नयाँ शिराबाट गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्यासहित सीआईबीले अनुसन्धान गरिरहेका सबै जटिल घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान गर्न निर्देशन दिएका छन्।

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानलाई नयाँ शिराबाट अगाडि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका छन्।

आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले निर्मलासहित ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धानमा तीव्रता दिन आग्रह गरेका हुन्।

उनले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न र दोषीलाई कानूनको दायरामा ल्याउन निर्देशन दिए। “नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति जनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ,” उनले भने।

सीमित स्रोतसाधनका बाबजुद सीआईबीले पाएको सफलताको प्रशंसा गर्दै गृहमन्त्री लेखकले ब्युरोलाई थप साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए। उनले हालै बढेको वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरिएको जानकारी पनि दिए।

प्रहरीप्रतिको भरोसा बढेकाले देशैभरबाट नयाँ प्रहरी चौकीको माग बढेको उल्लेख गर्दै मन्त्री लेखकले प्रहरीलाई सुविधा सम्पन्न बनाउन चालू आर्थिक वर्षमा बजेट विनियोजन बढाएको बताए।

कार्यक्रममा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले निर्मला पन्त प्रकरणसहित अन्य घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएका थिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र सीईबीका प्रमुख चन्द्रकुवेर खापुङ् लगायतका प्रहरी अधिकारीहरूको उपस्थिति थियो।