अझै केही दिन देशभर मनसुन सक्रिय रहने

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौँ– लामो खडेरीका कारण प्रभावित तराईका किसानले आइतबार भने राहत महसुस गरेका छन्। विशेषगरी पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ। महाशाखाकी मौसमविद् बिनु महर्जनले भनिन्, “यसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी नै वर्षा भएको छ, तर पूर्वी तराईबाट बिस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ।”

आइतबार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईनजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ। देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उनले काठमाडौँमा पनि आज खन्डिन वर्षा भएको बताइन्। चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन। यस्तै, खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ।

मौसमविद् महर्जनका अनुसार आइतबार दिउँसो विभिन्न प्रदेशका केही क्षेत्रमा भारी नै पानी परेको र अहिले पनि कोशी र मधेश प्रदेशमा वर्षा जारी नै रहेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको अनारमनी बिर्ता स्टेसनमा १५१.६ मिलिमिटर पानी परेको छ। 

यस्तै, दमकमा १२१ र चन्द्रगढीमा १२७ मिलिमिटर वर्षा भएको छ । उदयपुरको गाईघाटमा १३४.३ मिलिमिटर वर्षा भएको छ भने बाँकेमा पनि १०७ मिलिमिटर वर्षा भएको छ। १६ भन्दा बढी स्टेसनमा ८० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। यो भारी वर्षा हो। 

मधेश प्रदेशमा पनि यसपालि राम्रो वर्षा भएको छ। मधेशमा सप्तरीको बरमजियामा ९३.६ मिलिमिटर वर्षा भएको छ। यस्तै, सिरहामा ८४.४, धनुषामा ४२.४, महोत्तरीको गौशालामा ५७.८, लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ। रौतहटको गौर ६५.८ मिलिमिटर, बारामा ४३ मिलिमिटर वर्षा भएको छ। पर्सा र सर्लाहीमा भने मध्यम वर्षा भएको छ । देशका धेरै मापन केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । 

योसँगै बागलुङ, लमजुङ, सिन्धुपाल्चोक, मोरङ, सङ्खुवासभा, झापा, उदयपुर, डडेलधुरा, डोटीका केही मापन केन्द्र आसपास पनि भारी वर्षा भएको विभागले जानकारी दिएको छ। हल्कादेखि मध्यम वर्षा भने देशका अधिकांश क्षेत्रमा भएको छ।

मौसम विभागले आगामी २४ घण्टामा देशभर मौसम बदली रहने र सबै प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहने जनाइएको छ। विभागले यो समयमा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै काम गर्न तथा सावधानी अपनाउन अनुरोध पनि गरेको छ।