उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एक घाइते

दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

कटारी– उदयपुरको उदयपुरगढी गाउँपालिका–७, जोगिटोलमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार दिउँसो करिब ४:२० बजेतिर मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको हो।

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०५६१ नम्बरको ट्रकले रौतामाई गाउँपालिका–७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो। मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा ट्रकका सहचालक, दोलखा कालिन्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।

प्रहरीले ट्रक चालक, काभ्रेपलान्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।