नेपाल सहभागी टप एन्ड टी२० श्रृंखला खेल्ने बांग्लादेश ‘ए’ टोलीको घोषणा

अस्ट्रेलियामा हुने श्रृंखलाका लागि बांग्लादेश ‘ए’ को कप्तानको जिम्मेवारी टेस्ट र ओडीआईका अनुभवी नरुल हसन सोहनलाई दिइएको छ। नेपाल र बांग्लादेश ‘ए’ बीच साउन ३१ गते खेल हुनेछ।

काठमाडौँ– बांग्लादेश क्रिकेट बोर्डले अस्ट्रेलियामा हुने टप एन्ड टी२० श्रृंखला खेल्ने ‘ए’ टोलीको घोषणा गरेको छ। उक्त टोलीको कप्तानको जिम्मेवारी टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रियका अनुभवी खेलाडी विकेटकिपर ब्याटर क्वाजी नरुल हसन सोहनलाई दिइएको छ।

कप्तान हसन सोहनले ११ टेस्ट र सात ओडीआई खेलेका छन्। उनले ४६ टी२० अन्तराष्ट्रिय पनि खेलेका छन्। उनीसहित नौ खेलाडी टेस्ट वा ओडीआई खेलिसकेका अनुभवी छन्।

‘ए’ टीमका अन्य खेलाडीमा हसन महमुद, मोहम्मद सेफ हसन, यासिर अलि चौधरी, मोहम्मद नइम, मोहिदुल इस्लाम भुइयाँ, अफिफ होसैन ध्रुबो, मोहम्मद मृत्तुन्जोय चौधरी र मोहम्मद नइम हसन छन्। त्यस्तै, जीशन अलाम, तुफायेल अहमद, रकिबुल हसन, महफुजुर रहमान रब्बी, मुस्फिक हसन र रिपोन मोन्डोल पनि टिममा छन्।

यीमध्ये हसन महमुदले १२ टेस्ट र २४ ओडीआई, मोहम्मद नइम हसनले १४ टेस्ट र अफिफ होसैन ध्रुबोले ३४ ओडीआई खेलेका छन्। त्यस्तै, मोहम्मद सेफ हसनले ६ टेस्ट, यासिर अलि चौधरीले ६ टेस्ट र नौ ओडीआई, मोहम्मद नइमले एक टेस्ट र आठ ओडीआई, मोहिदुल इस्लाम भुइयाँले एक टेस्ट तथा मोहम्मद मृत्तुन्जोय चौधरीले एक ओडीआई खेलेको अनुभव छ।

बांग्लादेश ‘ए’ले लगातार दोस्रो वर्ष प्रतियोगितामा भाग लिन लागेको हो। प्रतियोगितामा पहिलो पटक भाग लिएको नेपालको राष्ट्रिय टोली र बांग्लादेश ‘ए’ एउटै समूहमा छन्। नेपालले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो।

नेपालका अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललितनारायण राजवंशी छन्। कुशल मल्ल टोलीमा फर्किएसँगै अनिल साह बाहिरिएका छन्। यसअघि स्कटल्यान्ड भ्रमणमा मल्ललाई समावेश गरिएको थिएन।

प्रतियोगितामा ११ टोली सहभागी छन्। नेपालबाहेक पाकिस्तान शाहिन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किङ्समेनले पनि भाग लिँदैछन्। अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली— होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्सका साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक पनि सहभागी छन्।

नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। पहिलो खेल साउन ३० गते एनटी स्ट्राइकविरुद्ध खेल्नेछ।