सत्तारूढ गठबन्धनमा सामेल हुँदैनौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर अघि बढ्ने बताएका छन्। 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल नहुने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनले यस्तो बताएका हुन्। उनले भने, “हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन, कुनै पनि शक्तिको पछि लाग्दैन।”

सोमबारबाट काठमाडौँमा शुरू भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे। उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रिने पक्षमा आफूहरू नरहेको बताए।

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो।

सोमबारबाट शुरू भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने अजेन्डासमेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

त्यसैगरी, बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ।