७.८ किलो सेतो हेरोइनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले लाओसबाट बैंकक हुँदै नेपाल ल्याइएको लागुऔषध सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

प्रहरीले फिरोज र मौलिश्वरणबाट बरामद गरेको लागुऔषध सेतो हेरोइन

काठमाडौँ– लागुऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। उनीहरूले लाओसबाट थाइल्यान्डको राजधानी बैंकक हुँदै नेपालमा लागुऔषध भित्र्याएका थिए।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार, पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशका फिरोज अहमद (३५) र भारतकै इरोद तालिमनाडुका मौलिश्वरण नन्जुन्दामूर्ति कुणाल वेल (३२) रहेका छन्।

साउन १७ गते लाओसबाट बैंकक हुँदै काठमाडौँ आइपुगेका फिरोजलाई विमानस्थलको अराइभल एरियाबाट चार किलो सेतो हेरोइनसहित पक्राउ गरिएको थियो। त्यसको भोलिपल्ट १८ गते सोही रुटबाट आएका मौलिश्वरणलाई तीन किलो ८०० ग्राम सेतो हेरोइनसहित पक्राउ गरिएको उनले बताए।

दुवै अभियुक्तविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।