बुधबारसम्म ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले पूर्वराप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेती नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको हो।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार मंगलबार मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरे पनि दिउँसो ३:०० बजेदेखि भने घट्न शुरू गरेको छ। “बबई नदीमा खतराको तह ६.८ मिटर भए पनि आज मध्याह्नसम्म ७.१ मिटर पुगेको थियो,” उनले भने, “अहिले भने जलसतह घटेर ६.६२ पुगेको छ।”

पराजुलीले मंगलबार काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा बहने स-साना नदीहरूको बहाव पनि बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको बताएका छन्। बाढीको जोखिम रहेका क्षेत्रहरूमा पूर्वसूचना प्रवाह भइरहेको पनि उनले जानकारी दिए।