फार्मेसीमा कार्यरत २२ जना कर्मचारी तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन्। चौबीसै घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन्।
धरान– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ। फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवासुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो।
फार्मेसीमा कार्यरत १८ जना फर्मासिस्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारी तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन्। चौबीसै घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन्।
कर्मचारीको धर्नाका कारण विशेष गरी प्रतिष्ठानको फार्मेसीमार्फत दिइँदै आइएको स्वास्थ्य बिमाअन्तर्गतका औषधि रोकिएका छन्। औषधि नपाएपछि बिरामी तथा तिनका आफन्तहरू निजी फार्मेसीमा गएर महँगो मूल्य तिर्न बाध्य भएका हुन्।
“अस्पतालको फार्मेसीबाट औषधि लिने आसमा आएका थियौँ, तर सेवा बन्द भएको जानकारी पाएपछि बाहिरको मेडिकलबाट महँगोमा औषधि किन्नुपरेको छ”, मोरङको उर्लाबारीबाट श्रीमतीको उपचारका लागि धरान आउनुभएका विकास मगरले भने, “उपचारमा ढिलाइ हुनुका साथै आर्थिक भार पनि दोब्बर परेको छ।”
प्रतिष्ठानको फार्मेसी सेवा निजी आपूर्ति कम्पनी केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालन हुँदै आएको छ। कर्मचारीलाई तलब तथा अन्य सेवासुविधा दिने दायित्व पनि सोही कम्पनीको भए पनि सात महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रनुपरेको उनीहरूको भनाइ छ।
तलब तथा सेवासुविधाको माग गर्दै पटक–पटक मौखिक र लिखित रूपमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरू बताउँछन्। वर्षौंदेखि सेवा दिँदै आए पनि नियमित तलब उपलब्ध नहुँदा परिवारको खर्च चलाउन समस्या भइरहेको भन्दै तलब नआएसम्म काममा फर्किने अवस्था नरहेको आन्दोलनमा सहभागी कर्मचारीहरूले बताए।
विसं २०७० मंसिर ८ गते केटिएम सर्भिसेजसँग तीन वर्षका लागि सेवा सम्झौता गरिएको थियो। पछि सो सम्झौताको म्याद थप गरी सेवा निरन्तरता दिइएको थियो। सम्झौताअनुसार कुनै कर्मचारीले सेवा अवरोध गरेमा २४ घण्टाभित्र वैकल्पिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारद्वारा जारी गरिएको विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा अवरोध गर्नु प्रचलित कानुनविपरीत भएको उल्लेख छ। विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र धर्ना, हडताल, तालाबन्दीजस्ता गतिविधि गर्न कानुनले अनुमति नदिएको स्मरण गराउँदै सेवा तत्काल सुचारु गराउन आपूर्ति कम्पनी केटिएम सर्भिसेजलाई आग्रह गरिएको छ।
प्रतिष्ठानले यस्तो घटनाले बिरामीको स्वास्थ्य सेवामा प्रतिकूल असर पुर्याएको र संस्थाको छवि समेत प्रभावित भएको जनाउँदै शीघ्र समस्याको समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
