सप्तरीमा प्रहरीको गोली प्रहारबाट १ जनाको मृत्यु

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

राजविराज– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा मंगलबार राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।  गोली लागेर राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो।

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो। प्रहरीलाई घेरा हालेर ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

सो क्रममा यादवलाई गोली लागेको हो। गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले राजगड गाउँपालिका–२ मा पर्ने उक्त ठाउँबाट विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ। 

सप्तरी प्रहरीले हालै छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो।