घुम्न जाने होइन मिक्वाखोला लामपोखरी?

हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरी र वरिपरिको हरियाली दृश्यले झनै सुन्दरता थपेको छ। पोखरीलाई स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी पनि भन्ने गर्छन्।

फुङ्लिङ– मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ। लोदेन फाँटमा रहेको लामपोखरी सुन्दर पर्यटकीय गन्तव्यका रूपमा रहेको छ। पछिल्लो समय पर्यटकका लागि बाटो, बासलगायत पूर्वाधार बनेसँगै यहाँ चहलपहल पनि बढ्न थालेको छ। पर्यटक वृद्धि हुने अपेक्षामा स्थानीय छन्।

ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन्। हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजंघा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा रहेको छ। हरियाली फाँट, बुकी फूल तथा पोखरीहरूको अवलोकनका लागि लोदेन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चर्चामा आउन थालेको छ।  

जडीबुटी संकलक मिलन लिम्बूका अनुसार हरियाली घाँसेमैदानमा रहेको लामपोखरी यस क्षेत्रकै ठूलो पोखरी हो। यहाँका पोखरी हेर्दा अरूको तुलनामा लामपोखरी ठूलो देखिए पनि यस पोखरीको अध्ययन, अनुसन्धान कुनै निकायले गरेको छैन। यो पोखरीसँग धेरै किंवदन्ती कथासँग जोडिएको मिक्वाखोला गाउँपालिका–५ का वडासदस्य तथा स्थानीय तोप्ला शेर्पाले बताए। पोखरीलाई स्थानीय ढोक्प्या समुदायले छ्योनाक्तिङ पोखरी भन्ने गरेको शेर्पाले बताए। यहाँ पुग्ने जोकोहीलाई यस पोखरीले लोभ्याउने गर्छ। 

पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरीको वरिपरि हरियाली दृश्यले यो क्षेत्र झनै सुन्दर देखिन्छ। मिक्वाखोला–५ सिम्बुकका पान्दे शेर्पाका अनुसार पोखरी अवलोकन गर्न आउने पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिने र तस्वीर कैद गरेर फर्किने गरेका छन्। 

यस क्षेत्रको प्रवर्द्धनका लागि सरोकारवालाले अहिलेसम्म योजना बनाएको देखिँदैन। उच्च हिमाली क्षेत्र भएकाले पर्यटकलाई लेक लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको छ। यो क्षेत्र अवलोकन गर्न एक साता लाग्छ।

मानव बस्ती नभएकाले बस्नका लागि याकगोठ र भेडीगोठको भर पर्नुपर्ने मिक्वाखोला–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए। केही ठाउँमा भने स्थानीयले आफन्तको सम्झनामा धर्मशाला बनाएका छन्। आवश्यक पर्ने खाद्य सामग्रीसमेत आफैले जोहो गरेर लैजानु पर्छ।

पछिल्लो समयमा गाउँपालिकाले  यस क्षेत्रको प्रवर्द्धनमा चासो देखाउन थालेको छ। चालु आर्थिक वर्षमा यस क्षेत्रको प्रचारप्रसार गर्न बजेट विनियोजन गरिएको छ।