भोजपुरमा हावाहुरीले मकै बालीमा क्षति

पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका छन्। फौजी किरा, बाँदरलगायत विभिन्न जंगली जनावरलेसमेत मकैमा क्षति पुर्‍याउने गरेको छ।

भोजपुर– वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन्। पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन्।

हावाले ढालेर कमै सखाप पारेको किसानको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशु चौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताए। फौजी किरा, बाँदरलगायत विभिन्न जंगली जनावरलेसमेत मकै बालीमा क्षति पुर्‍याउँदै आएको उनको भनाइ छ।

“रोग किरा तथा जंगली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्‍यो,” उनले भने, “मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ।” दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यामशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ। 

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रूपमा मकै बालीलाई लिन गरिन्छ। हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्ने अवस्था रहेको किसानको भनाइ छ। जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ।