उत्तरकाशीमा बादल फाट्दा १०० भन्दा धेरै मानिस हताहत भएको आशंका: एनडीआरएफ

बादल फाटेर खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन र पसल हिलोले पुरिएका छन्।

बाढीपछि धरालीको अवस्था/तस्वीर: एपी

काठमाडाैँ– भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पर्ने धरालीमा मंगलबार बादल फाटेर अचानक आएको बाढीमा परेर एक सयभन्दा धेरै मानिस हताहत भएको अनुमान त्यहाँको राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)ले गरेको छ।

बाढीमा परेर ४ जनाको मृत्युको पुष्टि भइसकेको छ। घटनापछि राहत र उद्धार कार्य जारी छ। यसमा प्रहरी, भारतीय सेना, स्थानीय प्रशासन, एनडीआरएफ लगायतको टोली समावेश छ। 

एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने, "प्रारम्भिक जानकारी अनुसार १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ। चार जनाको मृत्यु भएको छ र एक सयभन्दा बढी मानिसहरू घाइते वा बेपत्ता हुन सक्छन्।"

स्थानीय प्रशासनले अहिलेसम्म यसको पुष्टि नगरेको डीआईजी शहेदीले बताए।

उनका अनुसार विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरबाट घटनास्थलको हवाई सर्वेक्षण गरेका छन्।

ठूलो मात्रामा खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन र पसल हिलोले पुरिएका छन्। लोकप्रिय पर्यटकीय गन्तव्य धराली गाउँमा धेरै होटल र रेस्टुरेन्टहरू पनि छन्। त्यहाँ भारतीय सेनाको ठूलो अड्डा र आईटीबीपीको शिविर पनि रहेको छ। धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर दूरीमा छ।

प्रत्यक्षदर्शीहरूले बाढी अचानक आएकोले मानिसहरूलाई भाग्ने मौका नै नमिलेको बताएका छन्। अनलाइनमा सार्वजनिक भएका भिडियोमा पानीको विशाल छाल बगिरहेको र बाटोमा रहेका भवन डुबानमा परेको देख्न सकिन्छ। त्यसैगरी, प्राचीन कल्पकेदार मन्दिर पनि हिलोले पुरिएर क्षतिग्रस्त भएको मानिएको छ।