भूकम्पले क्षतिग्रस्त भएको प्रहरी कार्यालयलाई हटाउन सम्पदा अभियन्ता र पुरातत्व विभागले दबाब दिए पनि नेपाल प्रहरीले निर्णय गर्न सकेको थिएन। काठमाडौँ महानगरसँगको सहकार्यमा अब सो भवन भत्काइने भएको छ।
काठमाडौँ– विश्व सम्पदा क्षेत्रअन्तर्गत रहेको हनुमानढोकास्थित जिल्ला प्रहरी परिसर भत्काइने भएको छ।
काठमाडौँ महानगरका प्रमुख बालेन शाह, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, पुरातत्व विभाग, गृह मन्त्रालयका प्रतिनिधिसहितको टोलीसहित आज बसेको बैठकबाट यस्तो निर्णय भएको हो। अब उक्त क्षेत्रमा पुरातात्विक महत्व झल्किने पोखरीसहित ट्राफिक प्रहरीको कार्यालय बन्ने मौखिक सहमति भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले उकालोलाई जानकारी दिए।
वि.सं. २०७२ सालमा क्षतिग्रस्त भएको सो कार्यालयलाई भत्काउनुपर्ने भन्दै पुरातत्व विभागले रातो स्टिकर टाँसेको थियो। सम्पदा क्षेत्रमा रहेको जीर्ण भवनलाई हटाउनका लागि पुरातत्व विभागले गत वर्ष नै प्रहरी कार्यालयलाई पत्राचार समेत गरेको थियो।
यद्यपि, कार्यालय हटाउने विषयमा लामो समय नेपाल प्रहरीले निर्णय गर्न सकेको थिएन। करिब ३ रोपनीको क्षेत्रफलमा फैलिएको सो क्षेत्र नेपाल प्रहरीको स्वामित्वमा छ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर पहिले चरणमा छलफल भए पनि त्यहाँ के कस्ता संरचना बन्ने बारे थप छलफल हुन बाँकी रहेको बताए। यसबारे थप जानकारी औपचारिक सहमति पछि मात्र भन्न सकिने बताए।
के भन्छन् सम्पदा अभियन्ता?
प्रहरी कार्यालय हटाउनको लागि लामो समयदेखि सम्बन्धित निकायले त्यस विषयमा ध्यानाकर्षण गराउँदै गर्दा बल्ल आफ्नो अभियानले सफलता पाएको सम्पदा अभियन्ता यादवलाल कायस्थ बताउँछन्। यद्यपि, यस खालका योजनामा महानगर र प्रहरी मात्र नभई जनसहभागिता सहितको सुनुवाइ पनि आवश्यक हुने उनको भनाइ छ।
“सम्पदा क्षेत्रको संवेदनशीलता महानगर र प्रहरीको मात्र नभई हामी स्थानीय र अभियन्ताको पनि हो, यसमा जनताको मत र भावनाको कदर हुनुपर्छ,” अभियन्ता कायस्थले भने, “ यसलाई दुई निकायको योजनामा मात्र सीमित नगरियोस्।”
उनी महानगरको सम्पदा सल्लाहाकार पनि हुन्। सम्पदा क्षेत्रको विषयमा हुने छलफलमा आफूलाई महानगरले सहभागी नगराएको भन्दै उनले गुनासो व्यक्त गरे। “सम्पदा क्षेत्रकै विषयमा भएको छलफलमा सम्पदा सल्लाहकारलाई नै किन सहभागी नगराइएकोको बुझ्न सकेको छैन,” उनले भने।
अर्का सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ पनि प्रहरी कार्यालय हटाउने माग सम्बोधन हुनु सकारात्मक मान्छन्। यद्यपि, यस्ता प्राचीन स्थानमा पहिले के थियो, अब कसरी पुनर्निर्माण गर्ने जस्ता विषयमा सम्बन्धित विभागको अध्ययनसहित समन्वय हुनुपर्नेमा उनी जोड दिन्छन्।
“प्रहरी कार्यालय हटाउने विषयमा सबैको एकमत थियो, त्यो सम्बोधन भयो ठिक छ,” उनी भन्छन्, “तर त्यहाँ पुरातात्विक ढुँगेधारा, पोखरी भएको हामीले आफ्ना पुर्खाबाट सुन्दै आएका छौँ। आगामी दिनमा विस्तृत अध्ययन गरी ती सबैलाई जीवन्तता दिनु पर्यो।”
नरदेवीको १२ वर्षे जात्रा, देवी नाच, सेतो मत्स्येन्द्रनाथ(जनबहाः द्य) जस्ता सांस्कृतिक पक्ष जोडिएको स्थानको सुरक्षार्थ प्रहरीका अन्य निकायभन्दा पनि सम्पदा प्रहरीको व्यवस्था हुनु अझ उपयुक्त हुने उनी बताउँछन्।
मल्लकालीन समयमा कोतवाली रहेको सो स्थान क्रमश: मेजिस्ट्रेट अफिस हुँदै प्रहरी कार्यालयको रूपमा विकसित भएको थियो। कालभैरव, कोटिलिङ्गेश्वर र नीलबाराहीजस्ता न्यायिक शक्तिसँग गाँसिएको नेपाल प्रहरीको इतिहासलाई पनि समेट्ने गरी सम्मान स्वरूप संग्राहलय स्थापना गर्न उचित हुने सम्पदा अभियन्ता गणपतिलालको भनाइ छ।
यो पनि
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

