एमएमए फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपतिले गरे सम्मान

भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो।

काठमाडौँ– एमएमए (मिक्स मार्सल आर्ट्स) फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। 

भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो। सो क्रममा राष्ट्रपति पाैडेलले रविन्द्रलाई फूलमाला लगाइदिएर सम्मान गरेका हुन्।

राष्ट्रपति पाैडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर ढाँटले आफ्नो खेल कौशल, शक्ति र खेलप्रतिको निरन्तर समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीका लागि गौरवको विषय भएको बताए। साथै, उनले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

देशलाई विश्वभर चिनाउने खेलाडी र खेलक्षेत्रको विकास तथा खेलाडीको सम्मान गर्न सरकारले योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

“देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्,” उनले भने, “खेलक्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संघसंस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु।”