धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउन्ड हवाई फायर

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।

सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको सामान।

काठमाडाैँ– भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।

जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा बुधबार साँझ सवा ८ बजे करिब भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने  क्रममा झडप भएको हो। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डीएसपीको  कमान्डमा रहेको सुरक्षा फौजले उक्त तस्करीको सामान नियन्त्रणमा लिन खोजेका थिए। सो क्रममा तस्कर र स्थानीय वासिन्दा जम्मा भइ  सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआर बाट  ४ राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

उनका अनुसार झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका थिए भने एउटा मोटरसाइकल र केही किराना सामान प्रहरीले नियन्त्रणमा लिएको छ।