गाईजात्रा

‘किसुनजी र केपी ओली हामीलाई जित्ने कमेडियन हुन्’ (भिडियोसहित)

‘मलाई के लाग्छ भने कमेडियनले पनि आफ्ना लागि लक्ष्मण रेखा कोर्नुपर्ने हुन्छ। कमेडियनको पनि निजी सम्पादकीय र आचारसंहिता हुनुपर्छ।’

‘किसुनजी र केपी ओली हामीलाई जित्ने कमेडियन हुन्’ (भिडियोसहित)
मनीष पौडेल/उकालो

काठमाडौँ– हास्यव्यंग्य कलाकार मनोज गजुरेल कलाकर्मी जत्था लिएर शुक्रबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा गाईजात्रे महोत्सवमा देखा पर्दैछन्। त्यहाँ उनको गाईजात्रे प्रस्तुति २७ साउनसम्म चल्नेछ । 

विभिन्न राजनीतिक दलका नेता र समाजमा चिनिएका विशेष पात्रको रुपाकृति, भेषभूषा तथा स्वर नक्कल गर्दै हास्यव्यंग्यय प्रस्तुति ल्याउने झापाली प्रतिभा गजुरेल सिस्नुपानी नेपाल संस्थासँग आबद्ध छन्। 

“म योचैँ चरित्र निभाउन सक्छु भन्नेमा ढुक्क भएपछि मात्रै त्यस्तो चरित्रमा खेल्न रुचाउँछु,” गाईजात्राको तयारीमा व्यस्त रहेका गजुरेलले उकालोसँगको संवादमा भनेका छन्, “जस्तो मलाई धेरैपटक मेयर बालेन शाह चरित्रमा अभिनय गर्नुपर्‍यो भनेर दर्शकबाट अनुरोध आएको छ। तर, मैले यो चरित्र आफ्ना लागि फिट नहुने भएकाले बालेन शाह बन्न नसक्ने अडान राख्दै आएको छु।”

हास्यव्यंग्य र कमेडीका स्टेज कार्यक्रममा हँसाउने नाममा सस्तो तथा अश्लील भाषा तथा प्रस्तुति आउन थालेकोमा सचेत रहेको उनी बताउँछन्। तर, पैसाकै निम्ति आफू पनि त्यस्ता मञ्चमा उपस्थित हुने गरेको स्वीकार गर्छन्।

“कमेडी सो जेजस्तो भए पनि पैसा दिएपछि टाउको हल्लाउनैपर्‍यो,” उनले भने, “तर, मलाई के लाग्छ भने कमेडियनले पनि आफ्ना लागि लक्ष्मण रेखा कोर्नुपर्ने हुन्छ। कमेडियनको पनि निजी सम्पादकीय र आचारसंहिता हुनुपर्छ।” 

गजुरेलले अहिलेका राजनीतिक दलका नेता र राजनीतिको रमिता कुनै कमेडी सोभन्दा कम नरहेको बताए। कलाकारभन्दा राजनीतिज्ञ बढी कमेडियन बन्दै गएको उनको भनाइ छ। 

राजनीतिक वृत्तमा विगतमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीजत्तिको ‘सेन्स अफ ह्युमर’ भएको पात्र भेट्न मुस्किल रहेको उनी बताउँछन्। राजनीतिज्ञले हास्यव्यंग्यमा गरिएको प्रहारलाई नबुझेजस्तो गरेर हल्का रूपमा लिन थालेकोमा गजुरेललाई अनौठो लागेको छ।

“पहिले–पहिले त हाम्रो प्रस्तुति हेरेर राजनीतिज्ञहरू आफूलाई काउकुती लागेजस्तो गर्थे, अहिले भने धेरैजसो गैँडालाई काउकुती लगाएझैँ हुन थालेको छ,” उनी भन्छन्। 

गाईजात्राको मुखमा गजुरेलसँग उकालोले गरेको भिडियो संवाद: