मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ, अन्य पीडित पनि प्रहरीको सम्पर्कमा

नेपाली नागरिकलाई भारतका विभिन्न शहरमा पुर्‍याएर मिर्गौला झिकी बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँ र काभ्रेबाट २-२ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– नेपाली नागरिकलाई भारत लगेर मिर्गौला झिकी बेचबिखन गर्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला तस्करीमा संलग्न रहेको आरोपमा काठमाडौँ र काभ्रेबाट दुई-दुई जनालाई पक्राउ गरेको हो।

भारत पुर्‍याएर मिर्गौला निकालेपछि सिन्धुली दुधौली नगरपालिकाका खिलबहादुर भुजेलले गत सोमबार सिन्धुली जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। यो मानव अंग बेचबिखनसम्बन्धी अपराध भएको भन्दै सिन्धुली प्रहरीले उक्त उजुरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो।

सोही उजुरीका आधारमा ब्युरोले मिर्गौला बेचबिखन गर्ने गिरोह खोज्न बुधबारबाट अपरेसन चलाएको थियो। ब्युरोले भुजेलको बयानका आधारमा अपरेसन चलाउँदा बुधबार राति एक जना र बिहीबार दिउँसो थप तीन जना पक्राउ परेका हुन्।

ब्युरोको प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले ३० जनाभन्दा बढीलाई नेपालबाट भारत पुर्‍याएर मिर्गौला झिकेको खुलेको छ। उनीहरूले प्रतिव्यक्ति ६ लाख रुपैयाँसम्म दिने गरेकोसमेत खुलेको ब्युरोको एसएसपी कृष्ण पंगेनीले बताए।

उनका अनुसार, यो घटनाका अन्य पीडित पनि ब्युरोको सम्पर्कमा आएका छन्। उनले कति जना पीडित सम्पर्कमा आए भन्ने खुलाउन चाहेनन्। “हामीले पीडित र आरोपितहरूको बयान लिइरहेका छौँ, अरू व्यक्ति पनि पक्राउ पर्न सक्छन्,” एसएसपी पंगेनीले भने।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले यो संगठित अपराध भएको र अनुसन्धान जारी रहेको जानकारी दिए। “हामी अपरेसनमै छौँ, यो गिरोह ठूलो रहेको अनुमान छ,” प्रवक्ता कुवरले भने।