भाषा आयोगको सदस्य नियुक्तिमा गडबडी: अख्तियारले माग्यो संस्कृति मन्त्रालयसँग जवाफ

भाषा आयोग सदस्यमा प्राडा. कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय हुँदा अर्कै कृष्णप्रसाद न्यौपानेले नियुक्ति पाएको विषयमा अख्तियारले संस्कृति मन्त्रालयसँग जवाफ मागेको छ।

काठमाडौँ– भाषा आयोगको सदस्य नियुक्तिमा भएको गडबडीको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जवाफ मागेको छ।

भाषा आयोग सदस्यमा प्राडा. कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय हुँदा अर्कै कृष्णप्रसाद न्यौपानेले नियुक्ति पाएको विषयमा आयोगले मन्त्रालयसँग जवाफ मागेको हो।

मन्त्रिपरिषद्ले २०७९ असार २१ गते भाषा आयोगको सदस्यमा स्याङ्जाका प्राडा. कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर, उक्त स्थानमा सोही गाउँपालिकाकै भगवती माविका शिक्षक कृष्णप्रसाद न्यौपानेले नियुक्तिपत्र बुझेका थिए।

अख्तियारले मन्त्रालयसँग यस विषयमा जवाफ मागेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। मन्त्रालयले जवाफ पठाउने तयारी गरिरहेको उनको भनाइ छ।

“उकालो नामक सञ्चारमाध्यममा आएको विषय के हुन्? यस विषयमा के–के भएको हो भन्दै फाइल पठाउन भनेका छन्,” ती अधिकृतले उकालोसँग भने, “अब त्यसै विषयमा जवाफ पठाउने तयारी हुँदैछ।”