गत वर्षको असोजमा गएको बाढीले जिल्लाका विभिन्न स्थानमा खानेपानी संरचना भत्काएको थियो। ती संरचना अस्थायी रूपमा टालटुल गरिए पनि समस्या भएको छैन।
ललितपुर– ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ। जिल्लाका नागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन्।
दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन। खानेपानी आउने आसमा २१ दिनसम्म रित्तो धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए।
त्यतिमात्र होइन, महानगरको वडा नं २२ र २१ अर्थात् बुङमती क्षेत्रका जनताका धारामा पनि लामो समयसम्म पानी आएन। त्यहाँका जनता खानेपानीका लागि घण्टौँ यात्रा गरेर पानीको मूल धाउन बाध्य भए। उनीहरू डोकोमा गाग्री र पानीका बोतल बोकेर खानेपानीको मुहान खोज्न भौँतारिए। गत वर्षको असोजमा गएको बाढीले सो क्षेत्रको खानेपानी पाइपलाइन विच्छेद गरिदिएको थियो। त्यसबेलादेखि सरकारले खानेपानी समस्यामा ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गयो र अन्ततः उपभोक्ताले दुःख भोग्नुपरेको हो।
उल्लेखित क्षेत्रका हुनेखाने उपभोक्ताले ट्यांकरको पानी किनेर ल्याएर दैनिकी चलाए। त्यतिमात्र होइन पहुँचवाला र विशिष्ट व्यक्तिका घरमा उपत्यका खानेपानी लिमिटेड (केयूकेल)का ट्यांकरमार्फत पानी पुर्याइयो। तर, सर्वसाधारणका भान्सामा न चर्को मूल्यका ट्यांकरको पानी पुग्न सक्यो न त केयूकेलकै। हजारौँ सर्वसाधारण खानेपानीको प्राकृतिक मुहान खोज्दै हिँड्न बाध्य भए। उनीहरू पानी बोक्ने जार, गाग्री र बोतल लिएर सार्वजनिक कुवा र धारामा लाइन बस्न बाध्य भए। यस्ता समस्या उल्लेखित वडाको मात्र होइन, ललितपुर जिल्लाकै हो।
घरमा जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका स्थानीय गुनासो बोकेर दर्जनौँपटक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ललितपुर शाखा कार्यालयमा धाउँदै आए, अझै धाइरहेका छन्। केही स्थानमा तत्कालका लागि समस्या समाधान भए पनि अधिकांश स्थानका समस्या जिउँको तिउँ छ।
ललितपुर महानगर–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले आफ्नो वडामा खानेपानीको हाहाकार हुँदा ठूलो समस्या भएको बताए। दैनिकजसो उपभोक्ता वडा कार्यालयमा गुनासो लिएर ‘डेलिगेसन’ आउने गरेको उहाँले सुनाउनुभयो। निरन्तर सम्बन्धित निकायमा झकझक्याउँदा पनि समस्या समाधान नहुँदा हैरान भएको उल्लेख गर्दै अध्यक्ष खत्रीले ठूलो परिश्रमपछि २१ दिनपछि जनताका घरका धारामा पानी आएको बताए।
असोजमा गएको बाढीले खानेपानी संरचना भत्काएको र ती संरचनालाई अस्थायी रूपमा टालटुल गरिए पनि समस्या समाधान नभएकाले खानेपानीको समस्या भएको महानगर–२५ का अध्यक्ष रवीन्द्र महर्जनले बताए। “फर्पिङबाट ल्याएको पानी बागमतीमा आएको बाढीले विच्छेद गरिदिँदा बुङमतीलगायत भैँसेपाटी क्षेत्रमा खानेपानी ठप्प भयो। निरन्तर खानेपानी मन्त्रालय, कार्यालय धाउँदा धाउँदा बल्ल २१ दिनपछि जनताका घरमा पानी पुर्याउन सकियो,” उनी भन्छन्।
अध्यक्ष महर्जन आफै खानेपानीको पाइप जडान गर्नका लागि वडाका साथीहरूसँगै निरन्तर दुई सातासम्म खटिनुभएको थियो। निरन्तरको प्रयासले तत्कालका लागि यस क्षेत्रमा खानेपानीको समस्या समाधान भएको उनले बताए।
त्यसैगरी, समाजसेवी एवं महानगरको वडा नं २५ का स्थानीय देवेन्द्रकुमार गौतम भन्छन्, “खानेपानीजस्तो संवेदनशील विषयमा राज्य गम्भीर भएर नलाग्दा जनता प्रताडित हुनुपरिरहेको छ, खानेपानीमा पनि राजनीति हुने गरेको र समस्या समाधानमा आलटाल गर्दा जनताले दुःख भोग्नु परेको छ।” सम्बन्धित निकायले बेवास्ता गर्दा गत वर्षदेखिको समस्या समाधान गर्न ढिलाइ भएको उनको भनाइ छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखा कार्यालयका अनुसार ललितपुर जिल्लामा करिब ५० हजार बढी धारा जडान गरिएको छ। ती धारामा मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी तथा फर्पिङ स्टिम प्रणालीबाट पानी निरन्तर पठाउन सकिएमा ललितपुरमा खानेपानीको समस्या समाधान हुनसक्ने कार्यालयको भनाइ छ।
गत वर्ष असोज १२ गते गएको बाढीका कारण ललितपुरका विभिन्न ठाउँमा पाइप टुटफुट भएका थिए र हालसम्म ती समस्याको समाधान नभएकै कारण स्थानीयले पानीको समस्या भोग्नुपरेको उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका कार्यालय प्रमुख विजय विश्वकर्माले स्वीकार गरे।
उनले भने, “गत वर्षको बाढीका कारण धेरै पाइपमा क्षति पुगेको छ। चापागाउँ र फर्पिङ स्टिमबाट पानी पर्याप्त मात्रामा आउन सकेको छैन। फर्पिङ स्टिमबाट प्रतिदिन दुई करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल पाइपमा आएको समस्याका कारण एक करोड २० लाख लिटरमात्र पानी ल्याएका छौँ। मेलम्चीको पानी पनि बन्द भएको छ। स्थानीयलाई पानी पुगेको छैन र गुनासो आएको छ।”
यता ललितपुर महानगरपालिका–१३ कुसुन्तीका धनराज घिमिरेको घरमा हप्ताको एक घण्टाजति मात्र पानी आउँछ। पानी वितरण तालिकाअनुसार पर्याप्त पानी नआएर सुकिहाल्ने गरेको उनी बताउँछन्। “महिनामा दुई ट्यांकर पानी किन्छौँ। पर्याप्त पानी प्रयोग गर्न नपाएर महसुल भने तिरिरहेका छौँ। केही समयअघि हप्तामा तीन दिन पानी आउँथ्यो, अलि सहज हुन्थ्यो। अहिले त कहिलेकाहीँ हप्तामा एकपटक पनि पानी आउँदैन,” उनको भनाइ छ।
ललितपुर कुसन्तीका स्थानीयले जडान गरेका पुराना पाइपलाई गत वर्षको बाढीले क्षति पुर्याएपछि नयाँ पाइप जडान गर्नुपर्ने भएकाले कतिपय स्थानीयको घरमा केही समय पानी बन्द भएको ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताए। “पुराना पाइप टुटफुट भएका छन्। नयाँ पाइप जडानको काम चलिरहेको छ। पाइप जडानको काम पूर्ण रूपमा सम्पन्न भएमा धारामा पानी आउँछ,” उनले भने।
भैँसीपाटी क्षेत्रमा फर्पिङ स्टिम प्रणालीबाट पानी वितरण भए पनि अहिले पानीको चरम समस्या रहेको स्थानीयको गुनासो छ। मन्त्री आवासमा पानी आउने तर जनताको घरमा नआउने भन्दै उनीहरूले आक्रोश पोखेका छन्। ललितपुर–१८ भैँसीपाटीका रामहरि थापाले ट्यांकरको पानी प्रयोग गर्दै आएका छन्। “खानेपानीको तालिकाअनुसार हप्तामा एक दिन पानी आउँछ, तर त्यसको भर हुँदैन। कहिलेकाहीँ कुर्दाकुर्दा पानी आउँदैन। अहिले त पानी कहिले आउँछ भन्ने थाहा नै हुँदैन, तर पानीको महसुल भने तिरिरहेको छु,” उनको गुनासो छ।
फर्पिङ स्टिमबाट दुई करोड लिटर पानी ल्याउन सकिएमा चक्रपथबाहिरका क्षेत्रमा हप्तामा दुई दिन पानी पठाउन सकिने उपत्यका खानेपानी लिमिटेड ललितपुर वितरण शाखाको भनाइ छ।
कार्यालय प्रमुख विजय विश्वकर्मा भन्छन्, “ललितपुरमा रहेका सबै मुहानलाई व्यवस्थित गरेर स्थानीयलाई पानी वितरण गर्न सकिने हो भने ललितपुरवासीले पानीको समस्या खेप्नु पर्दैन। नल्लु खोला, वासुदु, गोदावरी नगरपालिकाको चारघरे मुहानलगायतका स्रोतलाई व्यवस्थित गर्न सकेमा पानीको समस्या हुँदैन। आगामी दिनमा समस्याको समाधान गर्न यतातिर पनि सोच्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
