धरानमा पहिरोले १ घरमा क्षति, १२ घर जोखिममा

वर्षायाम शुरू भएपछि पहिरोको डरले जाग्रम बस्नुपरेको धरान–३ का स्थानीयको भनाइ छ। पर्खाल निर्माण गरेर पहिरो रोकथामको प्रयास गर्ने उपमहानगरले जनाएको छ।

धरानमा पहिरोले १ घरमा क्षति, १२ घर जोखिममा
सांकेतिक तस्वीर।

धरान– अविरल वर्षासँगै आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ। १२ घर उच्च जोखिममा परेका छन्।

बिहीबार राति खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ। भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो। बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।”

स्थानीय कौशल श्रेष्ठले वर्षा शुरू भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए। धरान–३ का वडासदस्य मिंमा भोटेका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन्। वडा कार्यालयले हाल क्षतिको विवरण संकलन गरिरहेको छ। वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माण गरेर रोकथामको प्रयास गर्ने उनको भनाइ छ। 

उन गत वर्ष धरान–३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो। त्यसबेला वडाबाट ५ लाख र नगरपालिकाबाट १४ लाख रुपैयाँ बजेट विनियोजन गरेर पहिरो रोकथाम गरिएको थियो।