पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन्। लामो समयदेखि विद्यार्थी संख्या शून्य हुँदा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन।

पर्वत– बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिँदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन्। 

जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन्। शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन्। लामो समयदेखि विद्यार्थी संख्या शून्य हुँदा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन। 

जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन्। विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालयसमेत रहेको छ। जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँपालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको छ। मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी संख्या शून्य भएको छ। 

यसैगरी फलेवास नगर पालिकामा ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य पुगेको हो भने कुश्मा नगरपालिकामा विद्यार्थी संख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका एकाइले जानकारी दिएको छ। 

यस्तै जलजला गाउँ पालिकामा चार सामुदायिक विद्यालयमा विद्यार्थी छैनन्। दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिए। फलेवास नगरपालिका–५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य छ। यस्तो अवस्थामा पनि स्थानीय तहले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउनेतर्फ ध्यान नदिएको उनले बताए। 

शून्य विद्यार्थी संख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रका हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि, जनता प्रावि रहेका छन्। जलजला गाउँ पालिकामा शून्य विद्यार्थी हुने विद्यालयहरूमा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, स्वस्वती आधारभूत विद्यालय धाइरीड रहेका हुन्। 

यसैगरी फलेवास नगर पालिकामा शून्य विद्यार्थी हुनेमा वाल प्रावि, धु्रव नमूना मावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि रहेका छन्। यसैगरी दक्षिण पर्वतको पैंयू गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा वालनयन प्रावि, वालज्योति प्रावि हुन्। 

मोदी गाउँ पालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, वालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय रहेका छन्। 

यता विहादी गाउँपालिकामा, जनसेवा प्रावि वहाकीठाँटी र वालज्योती प्रावि रानीपानीमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले जनाएको छ। यसरी विद्यार्थी नै नभएका विद्यालयको संख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताए। 

शिक्षकहरूलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिलाउने गरिएको छ। राज्यको बजेटको दुरुपयोग हुने भए पनि बाध्यतामा परेर शिक्षक राख्नुपरेको फलेवास नगरपालिका–२ थापाठानाका वडाध्यक्ष गंगानारायण श्रेष्ठले बताए।  

अहिले विद्यार्थी नभए पनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजन नगरिएको उनको भनाइ छ।