सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी पाटनको भेडीगोठमा भेटिएका छन्।

बाजुरा– बूढीनन्दा मन्दिरको दर्शन गरी फर्कने क्रममा सम्पर्कविहीन भएका ५५ वर्षीय खिमराज उपाध्याय भेटिएका छन्। बाजुराको बडीमालिका नगरपालिका–९, उखाडी घर भएका उपाध्यायलाई प्रहरीले पाटनको भेडीगोठमा हिँड्दै गरेको अवस्थामा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिएअनुसार, इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले उनलाई फेला पारेको हो।

उपाध्याय शुक्रबार साँझ ५:३० बजे बूढीनन्दाबाट फर्किएर चुडेपानीको बर डाँडासम्म आएका थिए। तर, उनी त्यहाँबाट फेरि बूढीनन्दातर्फ फर्किएपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो।