राष्ट्रिय मानवअधिकार आयोगको टोली घटनाको अनुगमन गर्न पुगे पनि कारागार प्रशासनको कार्यालयसम्म मात्र पुग्न सकेको छ, भित्र प्रवेश गर्न सकेको छैन।
धनगढी– कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपपछि त्यहाँको अवस्था असामान्य बनेको छ। शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। घटनापछि कारागारभित्रको परिस्थिति नियन्त्रणबाहिर रहेको र सुरक्षाकर्मीहरूलाई समेत भित्र प्रवेशमा अवरोध गरिएको बताइएको छ।
जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरू, जसमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी उपरीक्षक बालनसिंह राणा, र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीत पनि कारागारको अवस्था बुझ्न पुगेका थिए। तर, कैदीहरूले उनीहरूलाई भित्र पस्न दिएनन्। "हामीहरू अहिलेसम्म पनि कारागारभित्र पस्न सकेका छैनौँ,” प्रजिअ हमालले भने, “उनीहरू आक्रोशित छन्। थप घटना नहोस् भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौँ।”
जिल्ला सुरक्षा समितिको बैठकले कारागारको सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगको टोली घटनाको अनुगमन गर्न पुगे पनि कारागार प्रशासनको कार्यालयसम्म मात्र पुग्न सकेको छ, भित्र प्रवेश गर्न सकेको छैन।

झडपमा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरी (४०) को मृत्यु भएको छ। उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। शुरूमा ४७ जना घाइते भएको भनिए पनि पछि कारागारको छतमा लुकेका थप दुई जना फेला परेपछि घाइतेको संख्या ४९ पुगेको छ।
घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले घाइतेमध्ये अधिकांशको हातखुट्टा भाँचिएको र झडपमा फलामे रडहरूको बढी प्रयोग भएको बताए। घाइतेहरूको अवस्था खतरामुक्त भए पनि, एक जनाको शल्यक्रिया भएको र एक जनालाई आईसीयूमा राखिएको छ।
आफन्तको आक्रोशित
घाइतेका आफन्तले अस्पताल र कारागार दुवैमा भेटघाट गर्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। लागुऔषधसम्बन्धी मुद्दामा कारागारमा रहेका छोराको अवस्था बुझ्न बिहानैदेखि भौँतारिरहेका महेश चौधरीले प्रशासनको लापरबाहीका कारण यस्तो घटना भएको आरोप लगाए। “छोरा भेट्न जाँदा कारागारभित्रको अवस्था नराम्रो छ भन्दैथ्यो, दुई समूहबीच झडप भइरहने र त्यसबाट सबैलाई खतरा रहेको भनियो,” उनले भने, “प्रशासनले पनि यसबारेमा जानकारी पाएको थियो तर लापरबाही भएर यस्तो भयो।”
अर्का आफन्त रमेश विनाडीले पनि कारागारभित्र लाठी, रड र भालाजस्ता हतियार कसरी पुगे भनी प्रश्न उठाए। "यसको छानबिन हुनुपर्छ," उनले भने, "लामो समयदेखि झडप भइरहे पनि प्रशासनले त्यसलाई सामान्य रूपमा लिएका कारण यस्तो भएको हो।"

छानबिन समिति गठन
कैलाली कारागारको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्।
यद्यपि, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले भने, “कारागार कैदीहरूको नियन्त्रणमा छ भन्ने समाचार गलत हो।” उनले सुरक्षाकर्मीले आफ्नो काम गरिरहेको र अहिले अवस्था सामान्य नै रहेको बताए। घाइतेमध्ये जगदीश राना, रवि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ। नेपाल न्युज बैंक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
