खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि समयमै व्यवस्थापन नहुँदा वर्षायाममा हिलाम्मे बनेको छ। जसले गर्दा स्थानीय, व्यापारी र दैनिक आवतजावत गर्ने यात्रुलाई समस्या भएको छ।
काठमाडौँ– “झरी परेपछि हिलाले बाटोमा हिँड्ने स्थिति हुँदैन। अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ,” बुटवलकी सुभद्रा भट्टराई शंखमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, “छि! सडक।”
यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ।
“घर आउने यो बाटोको अर्को विकल्प छैन। दिनहुँ हिँड्नै पर्छ, तर हिँडेपछि सास्ती। अस्ति सानी नातिनी हिलोमा चिप्लिएर लडी। हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ,” शंखमूल डेरा गरेर बस्ने भट्टराई भन्छिन्।
कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन्। जेठ/असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापनसमेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन्। दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोशित छन्।
वडाले खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको छ। तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवतजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्छिन्।
सडक हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ। स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ। अधिवक्ता एवं स्थानीय बासिन्दा भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँडडुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए।
सडक खन्ने पनि जनताले कसरी हिँडडुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उनले बताए। “मान्छे कहाँबाट हिँड्छ त, सोच्नु पर्दैन? विकासको नाममा भत्काएर अलपत्र छोड्ने होइन, त्यो पनि बर्खा मासमा,” उनले भने, “वडाले चाँडोभन्दा चाँडो हिलो बाटोलाई व्यवस्थापन गरेर हिँडडुल गर्न सक्ने बनाउनुपर्छ।”
कोटेश्वरदेखि शंखमूलस्थित स्कुलमा छोरा लिएर आउने शंकर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताए। शंखमूल गणेशमार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उनको भनाइ छ।
किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताए। “वर्षाभरि हिलोले सताउने भयो, चैत–वैशाखमा धुलोले पिरोल्ने”, उनी भन्छन्, “विकासको नाममा उल्टै नागरिकको दैनिकी नै नराम्ररी प्रभावित हुने गरी काम गर्नु निन्दनीय छ।”
यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको लामिछानेले गुनासो गरे। “खाल्टो खन्दा सडकबाट निस्किएको हिलोलाई व्यवस्थापन गरेर अलिकति समथर बनाइदिए काम चल्थ्यो, तर यहाँ जसरी भत्काइयो, त्यस्तै छ। यो जनप्रतिनिधिको लापरबाही हो,” उनले भने।
काठमाडौँ महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकैपटक गर्ने योजनाका कारण गत आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउँछन्।
“५० वर्षअघि राखिएको छ इन्चको ढल प्रतिस्थापन गरी हाल ४२ इन्चको ठूलो ढल राखिएको छ। खानेपानीको पाइप र बिजुलीका तार एकैसाथ बिछ्याउने तयारी भएको हुँदा यस्तो भएको हो”, उनले भने, “पाइप, ढल राख्न सडक खन्नै पर्यो। हिलोमा ग्राभेल गर्न सकिँदैन। स्थानीयलाई गाह्रो भएको छ, तर अरू उपाय छैन । तीन–चार महिनापछि त पहिलेको भन्दा राम्रो सडक बनिहाल्छ नि!”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
