सरकारलाई समर्थन गर्ने कि नगर्ने धर्मसंकट छ : जगन्नाथ खतिवडा

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा पोलिटब्युरो बैठकले परिपक्व निर्णय गर्ने बताए।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा आफूहरूलाई धर्मसंकट परेको बताएका छन्।

सोमबार बसेको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले व्यक्तिगत रूपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पारे। पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटब्युरो बैठक राखिएको भन्दै उनले बैठकबाट परिपक्व निर्णय गरिने बताए।

"हामीले जनादेश बुझेका छौँ। हामीलाई एउटा धर्मसंकट छ। १७/१८ महिनासम्म हामी गठबन्धनमा सँगै बस्यौँ। प्रचण्ड जुन–जुन बाटोबाट हुनुभएको भए पनि प्रधानमन्त्री हुनुभयो। व्यक्तिगत रूपमा उहाँप्रति हाम्रो सद्भाव पनि छ तर राजनीति भनेको व्यक्तिगत सद्भावले मात्रै काम गर्ने कुरा होइन", उनले भने, "पार्टीको नीतिगत प्रश्नहरूमा प्रष्टता नभईकन व्यक्तिगत कुराको अर्थ रहँदैन। त्यो नीतिगत प्रष्टता प्राप्त गर्नको निम्ति हामीले पोलिटब्युरोको बैठक बसाएका हौँ।"