क्याफेमा १७ वटा पर्सियन जातका बिराला छन्, जुन भारत र थाइल्यान्डबाट ल्याइएका हुन्। क्याफेको मुख्य आकर्षण हो, ‘क्याट रुम’। जहाँ प्रवेश गर्न ५०० रुपैयाँ तिर्नुपर्छ।
काठमाडौँ– काठमाडौँको मध्य बानेश्वरस्थित मितेरी मार्गमा रहेको ‘क्याट क्याफे नेपाल’ले बिरालोप्रेमीहरूको ध्यान तान्न थालेको छ। क्याफेमा गएर बिरालोसँग समय बिताउने र रमाउनेहरूको चहलपहल बढेको हो।
क्याट क्याफेको शुरूआत आकृति श्रेष्ठले गरेकी हुन्। उनी सानैदेखि बिरालो प्रेमी थिइन्। विदेश गएका बेला त्यहाँको क्याट क्याफे संस्कृति देखेर प्रभावित भइन्। नेपालमा पनि यस्ता ठाउँ हुनुपर्छ भन्ने सोचका साथ २०७९ सालमा झम्सिखेलमा क्याट क्याफे शुरू गरिन्। अहिले मध्य बानेश्वरमा सारिएको छ। यसको सञ्चालन आकृतिका भाइ आर्यन श्रेष्ठले गरिरहेका छन्। आकृति भने अस्ट्रेलियामा छिन्।

“नेपालमा अझै पनि धेरैले बिरालोलाई अशुभ मान्छन्। बिरालोले रोग सार्छ, अपशकुन ल्याउँछ भन्ने सोच छ। हामी त्यही सोच बदल्न चाहन्छौँ,” आर्यन भन्छन्, “क्याट क्याफे खोल्नुको मुख्य उद्देश्य भनेकै यस्तो सकारात्मक संस्कृति ल्याउनु हो जहाँ मानिस र जनावरबीच आत्मीय सम्बन्ध हुन्छ। मानसिक शान्तिको लागि पनि यस्तो ठाउँ आवश्यक छ।”
क्याफेमा १७ वटा पर्सियन जातका बिराला छन्, जुन भारत र थाइल्यान्डबाट ल्याइएका हुन्। यहाँको मुख्य आकर्षण हो क्याट रुम। यसमा प्रवेश गर्न ५०० रुपैयाँ शुल्क लाग्छ, जसमा तपाईंले एक खानेकुरा र एक ड्रिंक रोज्न पाउनुहुन्छ। अनि स्वस्थ, सफा बिरालासँग घन्टौँ समय बिताउन पाउनुहुन्छ। “बिरालाहरू तपाईंको खाना हेरेर लोभिँदैनन्, उनीहरू तपाईंको संगतमा रमाउँछन्,” आर्यन भन्छन्।

क्याफेमा प्राय: कलेज पढ्ने युवा, किशोरकिशोरी र बालबालिका आउने गर्छन्। “मानिसहरू आउँछन्, बिरालासँग समय बिताउँछन्, अनि रमाएर फर्किन्छन्। धेरैले तनाव कम भयो भन्ने प्रतिक्रिया दिनुहुन्छ,” आर्यनले भने।
क्याट रुम तल्लो तलामा छ भने माथिल्लो तलामा सामान्य रेस्टुरेन्ट रहेको छ। जहाँ विभिन्न परिकार र पेय पदार्थ उपलब्ध छन्। आफूहरूको क्याट क्याफे नेपालकै पहिलो भएको आर्यनले बताए। आगामी दिनमा यसको नयाँ शाखा खोल्ने रहेको छ।

“क्याट क्याफे केवल व्यापार होइन, यो सेल्फ–केयर पनि हो,” उनले भने, “तपाईं यहाँ आउनुहोस्, बस्नुहोस्, खेल्नुहोस् अनि आफै अनुभूति गर्नुहोस् कि जनावरहरूसँग बिताएको समयले तपाईंको मनलाई कसरी हल्का बनाउँछ।”
क्याफे बिहान ११ देखि साँझ ८ बजेसम्म खुल्छ। यसैगरी रेस्टुरेन्ट बिहान ११ देखि राति १० बजेसम्म खुला रहन्छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
