रामेछापमा सवारी दुर्घटना: १ जनाको मृत्यु, १ गम्भीर

मन्थली नगरपालिका–६ बोक्से पहरोस्थित सडकबाट खसेको करिब १०० मिटर तल तामाकोशी नदी किनारमा पुगेको छ।

मन्थली– रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। 

मन्थली नगरपालिका–६ बोक्से पहरोमा भएको दुर्घटनामा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको हो। उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी हुन्। 

गाडीचालक ४५ वर्षीय उत्तम चौहान गम्भीर घाइते भएका छन्। उनलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए।  

गाडी सडकबाट करिब १०० मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो। मन्थली–७ मा रहेको शहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहेकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम  हेटौँडामा अध्ययनरत छोरालाई भेट्न जाँदै थिए।