एशिया कप छनोट: उत्तर कोरियासँग पराजित भएसँगै बाहिरियो नेपाल

एएफसी यू२० महिला एशियन कप छनोटमा नेपाल, उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ।

काठमाडौँ– एएफसी यू२० महिला एशियन कप छनोटमा नेपाल, उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ।

आइतबार भुटानको थिम्पुमा भएको खेलमा एकपक्षीय रूपमा हाबी हुँदै उत्तर कोरियाले लगातार तेस्रो जित दर्ता गरेको हो।

यो जितसँगै ९ अंक जोडेर उत्तर कोरिया समूह ‘ए’को विजेता बन्दै सन् २०२६ मा थाइल्यान्डमा हुने यू२० वुमेन्स एशिया कपका लागि छनोट भएको छ।

तीनपल्टको विश्व र दुईपल्टको एशियाली च्याम्पियन उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० ले हराएको थियो।

नेपालले पहिलो हाफमा पाँच गोल र दोस्रो हाफमा ६ गोल खाएको थियो। खेलको तेस्रो मिनेटबाटै गोल गर्न शुरू भएको थियो।

यो पराजयसँगै नेपालको एशिया कपमा छनोट हुने यात्रा समाप्त भएको छ। नेपाल तीन खेलबाट चार अंकमा सीमित रहेको छ। 

नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो। 

आइतबारको अर्को खेलमा भुटान र साउदी अरेबियाबीचको नतिजाले नेपालको समूहमा अन्तिम स्थान निर्धारण गर्नेछ।